सरकारमाथि दबाब बनाउने विपक्षी गठबन्धनको रणनीति, जनपरिचालनका कार्यक्रम ल्याइने……

पाँच दलीय विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने भएको छ । बुधबार साँझ बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालका कार्यक्रम ल्याउने निर्णय गरेको हो । मंगलबारमात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए । त्यसको भोलिपल्ट बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धको बैठकले प्रतिगमनका विरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सुरु भए पनि संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अगाडि बढाउने निर्णय भएको बताए । ‘प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अदालतमा बहस सुरु भएको छ । अदालतले संविधानसम्मत ढंगले लोकतन्त्रको पक्षमा संविधानको प्रावधान र मर्मअनुसार नै निर्णय गर्नेछ भन्ने आशा गर्नुपर्छ,’ उनले भने, ‘तर, प्रतिगनविरुद्ध तथा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालन कार्यक्रम अगाडि बढाउने भन्ने निर्णय भएको छ ।’ नेता श्रेष्ठले कोभिड–१९ को दोस्रो लहरको संक्रमण कम हुँदै गएको र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी जनपरिचालनका कार्यक्रम गरिने बताए । बुधबारको बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए । गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । साथै गठबन्धनलाई अझै मजबुत बनाउने निर्णय पनि बैठकले गरेको छ ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार