काठमाडौं, बैशाख १६ देखि सुरु भएको निषेधाज्ञा असार १५ बाट केही खुकुलो पार्दै सरकारले उपत्यकामा जोर–बिजोर का आधारमा बस सञ्चालन गर्न दिएपछि नेपाली काममा फर्किएका हुन् । तर, बस चल्न थाले पनि कमाइ भने ठप्प रहेको उनले सुनाए । पर्याप्त यात्रु नभएका कारण गाडीमा हाल्ने तेल खर्चसमेत निकाल्न कठिन भएको नेपालीले रातोपाटीलाई बताए । उनीजस्तै अहिले उपत्यकामा गुड्न थालेका बसका चालकहरूको साझा गुनासो छ, ‘पर्याप्त यात्रु छैनन्, बस भाडादर पुरानै छ, तेल खर्चसमेत उठाउन मुस्किल छ । सरकारले निषेधाज्ञा खुकुलो पारेर जोर–बिजोर नम्बरका आधारमा उपत्यकामा बस सञ्चालन गर्न दिए पनि कोरोना संक्रमण दर पूर्ण रुपमा घटेको छैन । सर्वसाधारणहरू पूर्णरुपमा निर्धक्क भएर घर बाहिर निस्कन सकेका छैनन् । चक्रपथ रुटका बस चालक लीला थापामगरले पनि यात्रु थोरै भएका कारण तेल खर्च उठाउन समस्या परेको बताए । उनले भने, ‘तेल हाल्न र खानलाई अलिअलि पुगेको छ, पछि के हुन्छ हेरौँ । यसैबीच बस व्यवसायीहरुले भने सरकारले जोर–बिजोरका आधारमा बस चलाउन दिनु ठीक भए पनि सम्पूर्ण क्षेत्रमा बस चलाउन नदिनु अव्यवहारिक भएको बताएका छन् । काठमाडौंको चक्रपथ रुटका बस चालक जगत रानामगर सरकारले जोर–बिजोरका आधारमा बस चलाउन खुला गरे पनि यात्रु संख्या थोरै भएका कारण समस्या परेको बताउँछन् । सरकारले भाडादर पुनरावलोकन गर्नुपर्ने उनले बताए । लगनखेल–भक्तपुर रुटका सहचालक गणेश प्रधान डिजेलको भाउ प्रतिलिटर ११० रुपैयाँ पुग्दा पनि भाडादर पुरानै भएकाले बस चलाउन समस्या रहेको बताउँछन् । उनी भन्छन्, ‘काम नगरी पनि भएन, तर कमाइ छैन । बस भाडा नबढाउने हो भने त तेल हाल्नै पुग्दैन । सरकारले भाडा बढाए हुन्थ्यो ।
यातायात व्यवसायी भन्छन् – ‘हामी सम्पूर्ण बस चलाउँछौँ’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले देशभरि बस सञ्चालन गर्न दिनुपर्ने बताउँदै सरकारले नमाने अवज्ञा गर्ने बताए । यसबारे बिहीबार यातायात व्यवसायीहरुको बैठक बसेर थप निर्णय लिइने उनले बताए । सिटौलाले भने, ‘सरकारले छोटो, मध्यम तथा लामो सबै दुरीको बस सञ्चालन गर्न दिनुपर्छ । साथै भाडादर समायोजन नभएको निकै भइसक्यो, वैज्ञानिक ढंगले भाडादर समायोजन पनि गर्नुपर्छ । महासचिव सिटौलाले आर्थिक गतिविधिलाई बढाएर जनजीवन सहज अवस्थामा फर्काउनका लागि पनि बस सञ्चालनलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए । यातायात व्यवसायीहरुले चालक तथा सहचालक जोखिम क्षेत्रमा रहेको भन्दै उनीहरुका लागि कोरोनाविरुद्धको खोप लगाउन पनि माग गरेका छन् । सरकारले आफ्नो माग सम्बोधन नगरे यही असार १८ गतेबाट देशब्यापी रुपमा बस सञ्चालन गर्ने उनीहरुले चेतावनी दिएका छन् । श्राेत: रापा












