चीनले देखाएको अग्रसरताले सिंगो विश्व तरंगित बनेको छ…..

काठमाडौँ — एकदलीय राजनीतिक प्रणाली अँगालेको चीनले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीका अवसरमा ‘शक्ति, प्रगति र विचार’ मा देखाएको अग्रसरताले सिंगो विश्व तरंगित बनेको छ । बेइजिङस्थित तियाननमेन स्क्वायरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘आफू मात्रै असल भनेर अरूलाई उपदेश दिने’ लाई नसहने भन्दै नरम भाषामा अमेरिका, भारतसहितका बाहिरी शक्तिराष्ट्रलाई संकेतमा दह्रो प्रहार गरेका छन् । चीनका लागि पूर्वराजदूत महेश मास्केले केही शक्तिराष्ट्रले अलग अर्थ र आक्षेप लगाए पनि चिनियाँहरू आफ्नो देशको विशिष्ट अवस्थाले सिर्जना गरेको आर्थिक, लोकतान्त्रिक र राजनीतिक मार्गमा बढ्न उत्सुक छन् भन्ने कूटनीतिक सन्देश बिहीबारको उत्सवले विश्व समुदायलाई दिएको प्रतिक्रिया दिए । ‘पुँजीवाद र पश्चिमेली लोकतन्त्रको कुनै विकल्प छैन, त्यसैले इतिहासको अन्त्य भयो भन्ने अमेरिकी समाजशास्त्री फुकुयामाहरूलाई इतिहासको अन्त्य हुँदैन र यी दुवैको विकल्प छ भन्ने गतिलो जवाफ चीनले दिएजस्तो लाग्छ,’ उनले भने । शतवार्षिकी समारोहलाई करिब एक घण्टा सम्बोधन गरेका राष्ट्रपति सीले आफ्नो देशलाई धम्क्याउने वा नकारात्मक प्रभावमा पार्ने प्रयास गरे तिनको टाउकामा प्रहार गर्ने चेतावनी दिए । चीनलाई कसैबाट हेपिन र दबिन नदिने उनको उद्घोष थियो । उनले खासगरी ताइवानको मुद्दालाई संकेत गर्दै राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा गर्न चिनियाँ जनता सक्षम रहेको समेत उल्लेख गरे । ‘समाजवादले मात्र चीनलाई बचाउन सक्छ र चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीन विकसित हुन सक्छ,’ उनले भने । कम्युनिस्ट विचारक एवं चीन मामिलाका जानकार मिलन तुलाधर चिनियाँ कम्युनिस्ट पार्टीले बितेको एक शताब्दीमा तय गर्न सकेको विचारधारा र हिँडेको मार्ग भनेकै ‘पद्धतिगत कुरा’ रहेको बताउँछन् । ‘हामीकहाँ भने सिको गर्ने काम मात्रै भयो । कम्युनिस्टका नाममा कुनै योजना र रणनीतिबेगरै कहिले जनयुद्ध गर्ने, कहिले माओवादको प्रवक्ता बन्नेसम्मको काम भयो,’ उनले भने, ‘तर पद्धति बनाउन र बसाल्नतिर हाम्रा कम्युनिस्ट नेताहरू कहिल्यै लागेनन् ।’ कम्युनिस्ट सिद्धान्तमा सबैभन्दा महत्त्वपूर्ण पक्ष पार्टी निर्माणका लागि ‘व्यक्तिगत स्वार्थ त्याग गर्नुपर्ने’ भनिए पनि नेपाली कम्युनिस्ट आन्दोलनका हकमा त्यही व्यक्तिगत स्वार्थले सधैं स्थान पाएको उनको मूल्यांकन छ । ताइवान, हङकङ, तिब्बतसहितका भूभाग तथा शासकीय स्वरूपबारे अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले प्रश्न उठाइरहेका बेला ‘एक चीन नीति’ का पक्षमा नेपालले राखेको अडानलाई चीनले सधैं सराहना गर्दै आएको छ । सिद्धान्त र वादका कुराबाट अघि बढेर चिनियाँ प्रगति तथा विश्वकै शक्तिराष्ट्रका रूपमा अघि बढिरहेको छविलाई बुझ्न पनि चीनले आत्मसात् गरेका नीतिहरूलाई अवलम्बन गर्नुपर्ने केही विज्ञहरूको भनाइ छ । ‘कम्युनिस्ट पार्टीको शासनमा भ्रष्टाचारको कुरा कहाँबाट कसरी आउन सक्छ ? पदलोलुपता र नातावाद–कृपावाद कहाँबाट उब्जन सक्छ ? हामीले पनि कम्युनिस्ट शासन बेहोरेको भए पनि चिनियाँ कम्युनिस्टले अँगालेको शून्य–सहनशीलताको पद्धति अँगाल्नै सकेका छैनौं । सबैभन्दा मुख्य कुरा शून्य सहनशीलता हो,’ तुलाधरले भने, ‘कम्युनिस्ट सरकार भईकन हामी दुर्दशामा छौं, चिनियाँ कम्युनिस्टले भने शून्य सहनसिलताको आदर्शमा विश्वलाई पाठ पढाइरहेका छन् । विज्ञहरूका बुझाइमा चिनियाँ कम्युनिस्टहरूले जे बोलेका हुन्छन्, त्यो प्रमाणित गरेरै छाड्छन् । ‘तर हामीकहाँ कम्युनिस्ट विचारक र अभियन्ता भनिनेमध्ये मनमोहन अधिकारी मात्रै सपना र योजनाका कुरामा स्मरणमा हुनुहुन्छ । त्यसपछि झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल र अहिले केपी शर्मा ओली कम्युनिस्ट प्रधानमन्त्री भए पनि कम्युनिस्ट सम्बोधन गर्नै लाजमर्दो स्थिति छ,’ तत्कालीन प्रधानमन्त्री झलनाथ खनालका कूटनीतिक सल्लाहकार तुलाधरले भने । पूर्वराजदूत मास्केले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षको दीर्घायु चीन र चिनियाँ जनताका लागि मात्रै नभएर विश्व कम्युनिस्ट आन्दोलनकै लागि पनि ऐतिहासिक महत्त्वको कीर्तिमान भएको बताए । उनले नेपाली कम्युनिस्ट पार्टी वा तिनका नेताले भने सही रूपमा कम्युनिस्ट सिद्धान्तको अर्थ र अन्तर्य समात्नै नसकेको उल्लेख गरे । ‘हामीले चीनको आकांक्षा र समस्या दुवैलाई बुझ्न जरुरी छ । कुनै बेलाको अर्धउपनिवेश चीन आफ्नो गरिमालाई पुनः प्राप्त गर्न चाहन्छ र विश्व समुदायमा आफ्नो न्यायोचित स्थान सुरक्षित गर्न चाहन्छ । चीनलाई हामी जति राम्ररी बुझ्न सक्छौं, त्यति नै पारस्परिक मित्रताका आधारमा ऊसँगको सम्बन्धलाई घनिष्ठ बनाउन सक्छौं,’ मास्केले भने । श्राेत: इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार