बाढीपहिरोले ७ को मृत्यु, ३ जना बेपत्ता…..

चितवन, सिन्धुली, तनहुँ — बाढीपहिरो र चट्याङमा परेर बिहीबार चितवन, सिन्धुली र तनहुँमा सात जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । तनहुँ र गोरखामा आठ जना घाइते भएका छन् । गोरखा, लमजुङ, पूर्वी नवलपरासीलगायत जिल्लामा दर्जनौं परिवार विस्थापित भएका छन् । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । बाढीपहिरोले चितवनमा बिहीबार दुई जनाको ज्यान गएको छ, तीन जना बेपत्ता छन् । त्यसैगरी चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । वर्षाका कारण पूर्वी चितवन बढी प्रभावित भएको छ । राप्ती नगरपालिका–१२ को पहाडी गाउँ लोथरमा बिहीबार पहिरोले दुई घर र एउटा गोठ भत्काएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार लोथरमा दुई घर बगाउँदा चार जना बेपत्ता भएका थिए । तीमध्ये एक पुरुषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परे पनि र अरू विवरण नआएको डीएसपी थापाले बताए । अर्को पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पनि पहिरोमा परेर मृत्यु भएको छ । आफन्तको घर जाने क्रममा बिहीबार दिउँसो दुई बजेतिर बाटोमाथिबाट आएको पहिरोमा परेका उनको शव एक किलोमिटर तल घैयाबारीमा भेटिएको डीएसपी थापाले बताए । त्यसैगरी बिहीबार बिहान साढे ८ बजेतिर राप्ती नगरपालिका–९ लालपुरमा चट्याङ लागेर ४५ वर्षीया बिजुलीमाया श्रेष्ठको मृत्यु भएको हो । धान रोप्न जाने क्रममा चट्याङ लागेर गम्भीर भएकी उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा बुधबार राति सवा दुई बजे पहिरो जाँदा अवरुद्ध भएको सडक मध्याह्न मात्रै एकतर्फी खुलेको थियो । भरतपुर महानगरपालिका–२९ केराबारीमा दिउँसो साढे तीन बजे अर्को पहिरो खस्यो भने साँझ सवा ७ बजेतिर भरतपुर– २९ को १४ किलोमा ठूलो ढुंगा खसेको थियो । सडक साँझबाट एकतर्फी सञ्चालनमा आएको छ । चित्रसारी पुलभन्दा दक्षिणबाट पनि बूढीराप्ती बगेपछि सौराहा आउजाउ बन्द भएको थियो । कयर खोलाको बाढी पसेर खैरहनी नगरपालिका–१ बेल्सीमा रहेको बाबा ग्यास उद्योगमा क्षति पुगेको छ । त्यसैगरी लदरी खोला उर्लंदा खैरहनी–३ को ग्रामीण क्षेत्र जोड्ने ३० मिटर लम्बाइको पुल बगेको खैरहनीका मेयर लालमणि चौधरीले बताए । खोलाको बाढी राजमार्गभरि भएको थियो । लदरी खोलाको भेलले राप्ती नगरपालिका–९ रसौलीका तीनवटा घर, एउटा खाजा पसल र तीनवटा बंगुर फार्ममा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । कयर खोला, लदरी खोला, पम्पा खोलालगायतमा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । बूढीराप्तीमा ठूलो भेल आएको छ । ‘जति आयो यिनै ठाडा खोलामा आयो, राप्तीमा पनि यही अनुपातमा ठूलो बाढी आएको भए पूर्वी चितवनमा गम्भीर क्षति हुने अवस्था थियो,’ रत्ननगर चित्रसारी घर भएका सौराहाका होटल व्यवसायी दामोदर रेग्मीले भने । चित्रसारीबाट बाघमारा, बद्रहनी हुँदै बूढीराप्ती खोला मकवानपुरबाट बग्दै आउने राप्ती खोलामा मिसिन्छ । त्यसैगरी, सिन्धुलीमा लब्दाह खोलाले बगाएर बुधबार राति बेपत्ता भएका कमलामाई नगरपालिका–४ का सन्तबहादुर मगरको शव बिहीबार वडा ८ को सिस्नेरीनजिक कमला नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कमलामाई–८ पैरेमा बिहीबार रामबहादुर बम्जन आश्रमको एक घर पहिरोले पुर्दा हेटौंडा उपमहानगरपालिका–१३ का लरिनबहादुर हिमडुङको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । श्राेत: इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार