दशकको सकसपछि ८४ अर्बमा तामाकोसीबाट बिजुली…..

दोलखा, काठमाडौं — निर्माणको एक दशक अवधिमा अनेक समस्या झेलेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु भएको छ । जडित क्षमता ४ सय ५६ मेगावाट रहेको यो आयोजनाका ६ वटा युनिटमध्ये पहिलो युनिटबाट परीक्षण उत्पादन थालिएको हो । पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएको हरेक १० दिनमा थप अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । भदौ १५ सम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाको अनुमान छ । दोलखास्थित आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार निवासबाटै स्विच थिचेर भर्चुअल उद्घाटन गरे । आयोजनास्थलमा समेत उद्घाटन कार्यक्रम राखिएको थियो । उद्घाटनका समयमा भने साढे सात मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । पहिलो युनिटबाट ७६ मेगावाट व्यावसायिक उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । एक सातापछि दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए । ‘२ सय २० केभी देवीटार सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा विद्युत् पठाएका छौं,’ उनले भने, ‘सोमबार औपचारिक रूपमै उत्पादन सुरु भएको छ ।’ पाँच वर्षमा निर्माण सक्ने लक्ष्यसाथ २०६७ मा निर्माण सुरु भएको आयोजनाको उत्पादन थाल्ने मिति लक्ष्यभन्दा ६ वर्ष पर धकेलिएको हो । आयोजनाको तयारी २०६० सालतिरबाटै थालिएको थियो । आर्थिक वर्ष २०७३/७४ मा निर्माण पूरा गर्ने भनिएकामा भूकम्पपछि आयोजनास्थलमा गएको पहिरो र त्यसपछिको नाकाबन्दीका कारण साढे दुई वर्ष निर्माण बिथोलिएको थियो । यस्तै ठेकेदारको ढिलासुस्ती र कोभिडका कारण आयोजना निर्माण चार वर्ष प्रभावित भएको आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । हाइड्रोमेकानिकल उपकरण जडानका लागि ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजनाको गति निकै सुस्त बनेको थियो । निर्माण अवधि लम्बिँदा आयोजनाको लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ । सुरुमा लागत निर्माण अवधिको ब्याजसहित साढे ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो ।आयोजना निर्माणका लागि ५२ अर्ब र निर्माण अवधिको ब्याजबापत ३२ अर्ब रुपैयाँ खर्च भएको छ । माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार