स्पेन सेमिफाइनलबाटै घर फर्किन बाध्य…..

टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे । यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको थियो । लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए भने ८० मिनेटमा अल्भारो मोराटाले स्पेनबाट बराबरी गोल फर्काएका थिए । १९६८ को युरो विजेता इटाली पछिल्लोपटक २०१२ को युरोकपमा फाइनलमा पुगेको थियो । त्यस, प्रतियोगितामा स्पेनले नै इटालीलाई ४–० ले हराएको थियो । अब, फाइनलमा इटालीले डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसैबीच अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ । सेप्टेम्बर २०१८ यता इटाली अपराजित छ । उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ । इटालीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो । त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो । जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जीत दर्ता गर्दैै उक्त किर्तिमान भंग गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा इटालीबाहेक ब्राजिल र स्पेनले मात्रै यति लामो अपराजित यात्रा गर्न सकेका छन् । ब्राजिल ९० को दशकमा तथा स्पेन २००७ देखि २००९ सम्मका अवधिमा ३५ खेलसम्म अपराजित थिए ।  श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार