डेनमार्कलाई हराउँदै इङल्यान्ड फाइनलमा…..

इङल्यान्डले युरोकप फुटबल प्रतियोगिताको फाइनलमा इटलीसँगको भेट पक्का गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा पुगेको हो । १९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङल्यान्डलाई जित दिलाए । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाएका थिए । ड्याम्सगार्डले २० यार्ड परबाट सिधैं गोलपोस्टको टप कर्नर ताकेर फ्रिकिक प्रहार गरेका थिए । जारी युरोकपमा इङल्यान्डले खाएको यो नै पहिलो गोल हो । त्यसैगरी जारी युरोमा डाइरेक्ट फ्रिकिकमार्फत भएको यो पहिलो गोल हो । घरेलु मैदान बिम्बलीमा बुकायो साकाको क्रसमा रहिम स्ट्रलिङले नजिकको दूरीबाट गोल गरेपछि इङल्यान्डले ३९ मिनेटमा खेल बराबरी ग¥यो । र, अतिरिक्त समयमा ह्यारी केनले निर्णायक गोल गर्दै इङल्यान्डलाई विजयी गराए । इङल्यान्डको पोस्टमा ७ सय २६ मिनेटपछि पहिलो गोल जोर्डन पिकफर्डले इङल्यान्डका लागि लामो समय गोल नखाने किर्तिमान यसै खेलमार्फत राखे, तर उक्त किर्तिमानलाई ५ मिनेटभन्दा धेरै लम्ब्याउन पाएनन् । ३० औं मिनेटमा डेनमार्कका ड्याम्सगार्डले गोल गर्नुअघि २७ वर्षीय पिकफोर्डले अन्तर्राष्ट्रिय फुटबलमा लामो समय गोल नखाने इंलिस गोलकिपरको किर्तिमान आफ्नो नाममा लेखाइसकेका थिए । जारी युरोमा लामो समयसम्म गोल नखाने किर्तिमान पनि पिकफोर्डकै नाममा रह्यो, युरोमा यसअघिका ५ खेलमा पिकफर्डले कुनै गोल खाएका थिएनन् । अन्तर्राष्ट्रिय फुटबल लामो समय गोल नखाने किर्तिमान भने इटलीका गियानलुइगी डोनारुम्माको नाममा छ । उनले यही प्रतियोगिताअन्तर्गत अन्तिम १६ को खेलमा अस्ट्रियाविरुद्ध गोल खानुअघि ११ सय ६८ मिनेटसम्म गोल नखाने किर्तिमान बनाएका थिए । यसक्रममा इटलीले ११ वटा अन्तर्राष्ट्रिय खेलमा कुनै गोल खाएको थिएन, जसमा जारी युरोका समूह चरणका तीन खेल पनि समावेश छन् । इटलीकै पूर्व गोलकिपर डिनो जोफको नाममा रहेको ११ सय ४२ मिनेटसम्म गोल नखाने किर्तिमानलाई डोनारुम्माले तोडेका हुन्, डिनो जोफले १९७२ देखि १९७४ सम्म यस्तो किर्तिमान राखेका थिए । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार