कोपा अमेरिकामै मेस्सीले बनाएका कीर्तिमान…..

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । जारी कोपा अमेरिकामै उनले यो कीर्तिमान बनाएका हुन् । मेस्सी यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखिएका छन्, उनले चार गोल र पाँच एसिस्ट गरिसके । अर्जेन्टिनाले जारी प्रतियोगितामा गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेस्सी प्रत्यक्ष रूपमा संलग्न छन् ।

मेस्सीले जारी प्रतियोगितामा बनाएका कीर्तिमान यस्ता छन् :

१ अर्जेन्टिनाका लागि सर्वाधिक खेल

मेस्सीले पूर्व कप्तान जाभियर मास्चेरानोको कीर्तिमान तोड्दै अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेले । मास्चेरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १ सय ४८ पुग्यो । कोलम्बियाविरुद्धको सेमिफाइनल खेल उनको १ सय ५० औँ अन्तर्राष्ट्रिय खेल थियो ।

२ छ वटा कोपा अमेरिका खेल्ने पहिलो अर्जेन्टिनी

मेस्सीले अहिलेसम्म ६ वटा कोपा अमेरिका खेलिसकेका छन् । उनले २००७ देखि २०२१ सम्म निरन्तर रूपमा कोपामा प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि मास्चेरानोको नाममा सर्वाधिक ५ वटा कोपा खेल्ने कीर्तिमान थियो ।

३ एकै प्रतियोगितामा सर्वाधिक एसिस्ट

जारी प्रतियोगितामा मेस्सीले ६ खेलमा पाँचवटा एसिस्ट गरिसकेका छन् । कोपा अमेरिकाको एकै संस्करणमा यति धेरै एसिस्ट गर्ने मेस्सी पहिलो खेलाडी हुन् ।

मेस्सीले बनाउन सक्ने थप कीर्तिमान

१. सर्वाधिक धेरैपटक कोपा खेल्ने कीर्तिमान

फाइनल खेलेसँगै मेस्सीका नाममा यो कीर्तिमान संयुक्त रूपमा कायम रहनेछ । चिलीका सर्जियो लिभिङस्टोनले अहिलेसम्म कोपामा सर्वाधिक ३४ खेल खेलेका छन् । अहिलेसम्म आफ्नो खेलसंख्या ३३ पुर्‍याएका मेस्सीले फाइनलमा मैदान उत्रनासाथ यो कीर्तिमान बराबरी गर्नेछ ।

२) कोपा अमेरिकामा सर्वाधिक गोल

जारी कोपामा मेस्सीले ६ खेलमा चार गोल गरेका छन् । कोपाका ६ वटा संस्करण खेल्ने क्रममा मेस्सीले कुल १३ गोल गरेका छन् । ब्राजिलका जिजिन्हो र अर्जेन्टिना नोर्बेर्टो मेन्डेजका नाममा कोपामा सर्वाधिक १७–१७ गोल गर्ने कीर्तिमान छ । यो कीर्तिमान बराबरी गर्न मेस्सी अझै चार गोलले पछि छन् । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार