ठगीको आरोपमा पूर्वमन्त्री साहविरुद्ध उजुरी…..

काठमाडौँ — पूर्वमन्त्री प्रभु साहविरुद्ध एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौंकी दीपा केसी (कुँवर)ले पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य साहविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले मन्त्री साहविरुद्ध दीपाले ठाडो निवेदन दिएको बताए । तर, निवेदनमा भनिएअनुसार ठगी भएको भनिएको रकमको लेनदेनको ठोस प्रमाण भने उल्लेख नगरिएको एसपी बस्नेतले बताए । तर, दीपाले मन्त्री साहलाई २०७४ को प्रतिनिधिसभा निर्वाचन ताका १० लाख ५० हजार र त्यसपछि २० लाख रुपैयाँ दिएको दाबी गरिन् । पछिल्लो पटकको रकम संसद् सचिवालयको १ नम्बर भवनको कोठामै गएर दिएको उनले दाबी गरेकी छन् । पछिल्लो पटक दिएको रकम आफ्नो छोरा दीपेश केसीलाई क्यानडा पठाउनका लागि साहलाई दिएको उनले बताएकी छिन् । ‘क्यानडामा क्यासिनो सञ्चालक रहेका सर्लाहीका नगेन्द्र झा आफ्नो साथी रहेको र उसैमार्फत क्यानडा पठाइदिन्छु भनेर प्रभु साहले रकम लिएका हुन्,’उनले भनिन् । प्रहरीमा उजुरी दिएकी दीपाले पूर्वमन्त्री साहले आफूबाट पटक–पटक गरी ३० लाख ५० हजार रुपैयाँ लिएको र १० लाख ५० हजार मात्रै फिर्ता गरेको दाबी गरेकी छन् । फिर्ता भएको रकम पनि तत्कालीन सहरी विकास सचिव रमेश सिंहमार्फत आफूले लिएको दीपाको जिकिर छ । तर, प्रहरीमा दर्ता भएको निवेदनमा आरोपित बनाइएका पूर्वमन्त्री साहले दीपासँग आफ्नो कुनै लेनदेन/आर्थिक कारोबार नै नभएको दाबी गरे । ‘म मधेसको मान्छे, उनी काठमाडौंको, मेरो सारा जीवन ऐना जस्तो खुला छ, उनको के–कस्तो हो, सबै खोजबिन गरेर बाहिर ल्याउनुहोस, मैले उनीसँग कुनै लेनदेन नै गरेको छैन,’ पूर्वमन्त्री साहले  भने । नागेन्द्र झा क्यानडामा क्यासिनो सञ्चालक हुन कि होइनन् भनेर आफूले त्यसबेला संस्कृति पर्यटन तथा नागरिक उड्ययन सचिव महेश्वर न्यौपानेसँग पनि बुझेको दीपाले दाबी गरेकी छन् । सचिवबाट पनि त्यसको पुष्टि गराएपछि आफूले रकम साहलाई दिएको उनको जिकिर छ । तर, पूर्वमन्त्री साहले आफू वैदेशिक रोजगारीसँग जोडिएका कुनै पनि काममा संलग्न नभएको र दीपाको आरोप असत्य र झूटो भएको दाबी गरे । आफूले दिएको रकम फिर्ता नगरेको भन्दै दीपा गएको असार १९ मा बानेश्वरस्थित घरमा गएर कुरा गर्दा साहबाट आफूमाथि हातपात भएको दाबी दीपाले गरेकी छिन् । त्यसको २ दिनपछि असार २१ मा दीपाले साहविरुद्ध हातपात र ठगीमा उजुरी दिएको बताएकी छन् । तर, साहले आफूले उनलाई कुनै हातपात नगरेको दाबी गरेका छन् । एसपी बस्नेतले उजुरीमा आरोपित बनाइएका व्यक्तिविरुद्ध ठोस प्रमाण नखुलेको बताए । ‘प्रमाण खुलेमा सुक्ष्म रुपमा अनुसन्धान अघि बढाउछौं, अहिले त्यस्तो कुनै तथ्य, प्रमाण र आर्थिक कारोबार भएको कागजात केही खुल्दैन,’ उनले भने । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार