देउवाविरुद्ध संस्थापन इत्तर पक्षको बत्तीसपुतलीमा बैठक…..

काठमाडौं । शुक्रबार अपरान्ह बत्तीसपुतलीस्थिति अनुपम फुडल्याडमा काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका नेताहरुबीच साझा उम्मेदवार छनोटका विषयमा सामुहिक छलफल भयो । सभापतिमा दाबी प्रस्तुत गरेका ८ जनाबीच भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी थिए । शुक्रबारको छलफलले एकताको सम्भावना बढाएको केसीको दाबी छ । उनले रातोपाटीसँग भने, ‘सके पार्टीभित्रै नसके हाम्रो समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको छ । छलफल निरन्तर रहनेछ । हिजोको छलफल सकारात्मक रुपमा सकिएको छ । बलबहादुर बाहेक सबैजनाले सभापतिमा दाबी गरेका छन् । बैठकको संयोजन गरेका नेता केसीले संस्थापन इतरबाट एकजना मात्रै सभापतिको उम्मेदवार उठाउने प्रस्ताव अगाडि सारेका थिए । त्यसमा सकारात्मक छलफल सुरु भएको केसीको भनाइ छ ।  नेता शेखर कोइरालाले  एउटै उम्मेदवारीका विषयमा बैठक सकरात्मक रहेको बताए । ‘बैठक सकारात्मक छ, निचोड भने निस्किइसकेको छैन’ कोइराला भन्छन्, ‘तर हामी एउटा उम्मेदवार दिन्छौं । हामी एक ठाउँमा छौं । यस्तै नेतृ सुजाता कोइरालाले पनि सहमति हुनेमा आफू विश्वस्त रहेको बताइन् । उनले भनिन् ‘ हार्दिकताका साथ छलफल भएको छ, जो भए पनि एकजना उम्मेदवार हुन्छ । यस्तै नेता सिंहले पनि साझा उम्मेदवार दिने विषयमा छलफल केन्द्रित रहेको तर एउटालाई अरूले छोड्ने कुरा भने नभएको बताए । ‘उम्मेदवारी दाबी गर्नेहरूबीच एक अर्कामा वान टु वान संवाद पनि गर्छौं । यताबाट साझा उम्मेदवार दिने कुरामा सहमति छ’, उनले भने । एउटै उम्मेदवार दिनेमा दुविधा नरहेको शेखरको भनाइ थियो । यद्यपि कसैले कसलाई छोड्ने कुरा भने नगरेको उनले बताए । उनले भने, ‘ म पछि हट्छु भनेर कसैले भन्नुभएको छैन । को बन्ने भन्नेमा सहमति बन्न सकेको छैन । एउटा उम्मेदवार दिन्छौं भन्नेचाहिँ सहमति हो । नेता कृष्णप्रसाद सिटौलाले आफू छलफलमा सहभागी भए पनि फरक रुपमा कसरत गरिरहेको बताए । सिटौला देउवा इत्तर गठबन्धनमा सामेल नहुने संकेत देखाएका थिए । सिटौलाले भने, ‘मत १३ औं महाधिवेशनमै उठिसकेको मान्छे हुँ । रामचन्द्रलाई हुँदैन भन्नुहुन्छ भने रामचन्द्र टीमकाले मलाई सहयोग गरे भैहाल्यो नि ! संस्थापन इत्तर पक्ष आगामी महाधिवेशनमा मिलेर जानुपर्ने केसीको जोड छ । हिजोको छलफलको सुरुमै केसीले देउवाइत्तर गठबन्धन बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, आकांक्षी सबैले आ–आफ्नो राम्रो माहोल रहेको दलिल पेस गर्दै सभापति उठ्ने अडान राखेका थिए । तर, छलफल सहभागी सभापतिका ८ जना आकांक्षीले कसैले कसैलाई स्वीकार नगरेको अवस्था छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार