क–कसले अस्वीकार गरे मन्त्री बन्ने देउवाको प्रस्ताव ?…..

सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको केही घण्टापछि नै काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयास थालेका छन् । देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । विपक्षी गठबन्धनको बैठक बसिरहेकै बेला शीतल निवासबाट मंगलबार शपथ ग्रहणका लागि देउवालाई खबर आएको काँग्रेस नेताहरुले सूचना दिएका थिए । त्यसपछि भोलिको सपथ ग्रहणमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे दलगत रुपमा छलफल भएको थियो । सोमबार अपरान्ह कोटेश्वरमा माधव नेपालको घर नजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा काँग्रेस सभापति देउवाले सरकारमा सहभागी हुन विपक्षी गठबन्धनका नेताहरुलाई निम्तो दिएका हुन् । देउवाको निम्तालाई अस्वीकार गर्दै एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीको परिस्थिति अलि फरक भएकाले एमालेको संस्थागत निर्णयअनुसार अघि बढ्ने प्रतिक्रिया दिए । अहिले गठबन्धनका अन्य दलहरूको सहभागितामा सरकार बनाउन र विस्तारै एमालेलाई पनि संस्थागत रुपमै समेट्न नेता नेपालले देउवालाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । तत्कालका लागि भने आफ्नो समूह सरकारमा सहभागी नहुने एमाले नेता नेपालले देउवालाई जवाफ दिएको स्रोतले बतायो । बैठकमा सहभागी नेताहरुका अनुसार नेता नेपालले जस्तै जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पनि आफ्नो पार्टी भोलि नै सरकारमा सहभागी हुने स्थिति नरहेको बताएका छन् । साउन ७ गते पछिमात्रै सरकारमा जाने परिस्थिति बन्ने जसपाका नेताहरुले देउवालाई जवाफ दिएका छन् । एमालेमा जस्तै जनता समाजवादी पार्टीमा पनि आन्तरिक विवाद छ । महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमै पुगेर पार्टी विभाजन गर्ने सहमति जनाइसकेका छन् । यसबारे निर्णय गर्न आयोगले गठन गरेको इजलासमा साउन ३ गते सुनुवाई हुँदैछ । सोमबारको बैठकमा ‘वेइटिङ प्राइमिनिस्टर’ देउवाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पनि मन्त्री बन्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमै सही थप्दै माधव नेपाल र प्रचण्डले पनि पौडेललाई मन्त्री बन्न आग्रह गरेको स्रोतले बतायो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै उपप्रधानमन्त्री बनिसकेकाले जनमोर्चा पनि सरकारमा सहभागी बन्दा फरक नपर्ने नेताहरुले बताएका थिए । तर, पौडेलले यसबारे पार्टीमा कुनै निर्णय नभएका कारण भोलिको सपथ ग्रहणमा मन्त्री नबन्ने देउवालाई जवाफ दिएकी छिन् । माधव नेपाल, उपेन्द्र यादवको जसपा र राष्ट्रिय जनमोर्चाले तत्कालै मन्त्री बन्न अस्वीकार गरेपछि अब काँग्रेस र माओवादीबाट कम्तिमा एक÷एकजना मन्त्री मात्रै राखेर मंगलबार देउवाले प्रधानमन्त्रीमा सपथ लिने विपक्षी गठबन्धनका एक नेताले रातोपाटीलाई बताए । यद्यपि पहिलो चरणका मन्त्रीहरुको टुंगो मंगलबार बिहान मात्रै लाग्ने गठबन्धनका नेता बताउँछन् । माओवादी र काँग्रेसबाट को–को मन्त्री हुने भन्ने पनि टुंगो लागिसकेको छैन । मंगलबार सानो आकारको मन्त्रिपरिषद बन्ने देउवाले गठबन्धनको बैठकमा जानकारी दिएका छन् । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार