नेता नेपालसँग दाहाल र यादवको भेटवार्ता…..

काठमाडौँ — प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्‌मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको हो । नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए । नेता नेपाल निवासमा मंगलबार बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचार विमर्श भएको बुझिएको छ । यद्यपि भेटका सम्बन्धमा दुवैतर्फका नेताले सञ्चारमाध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादवले नेता नेपालसँग समसामयिक विषयमा कुराकानी गरेको र विस्तृत विवरण दिउँसो जानकारी गराउने बताए । उनका अनुसार जसपाको संसदीय दलको बैठक मध्याह्न सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गरेका हुन् । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालबीच पनि करीब एक घण्टा कुराकानी भएको थियो । श्रोत: ईका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार