विषादी नजाँची भारतीय तरकारी आयात…..

काठमाडौँ — काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन । विषादी परीक्षण र नियमनबारे सरकारी निकाय अनभिज्ञजस्तै छन् । ‘अहिले तरकारीमा आरडीटी परीक्षण मात्रै हुन्छ । त्यो भनेको कलर मात्रै हेर्ने हो, खासमा त त्यो परीक्षण नै होइन,’ केन्द्रीय कृषि प्रयोगशाला प्रमुख सावित्री बरालले भनिन्, ‘आरडीटीबाट विषादीको उपस्थिति छ/छैन मात्रै थाहा हुन्छ । त्यो पनि कार्बामेट र अर्गानोफोस्फेटको मात्रै । यी दुई विषादीको अवशेष मात्रा पनि यकिन हुँदैन ।’
प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र २९ समूहका विषादी प्रयोग भएको पाइन्छ । फलफूल तथा तरकारीमा दर्जनजति समूहका विषादी प्रयोग भइरहेको छ । तर केन्द्रीय कृषि प्रयोगशालाबाट कार्बामेट र अर्गानोफोस्फेटको मात्रै परीक्षण हुन्छ । ‘तरकारी तथा फलफूल आयात गर्ने व्यवसायी स्वयंले नमुना लिएर आउँछन् । प्रक्रिया कसरी अघि बढिरहेको छ, त्यो थाहा हुँदैन । त्यसपश्चात् भन्सार विभागलाई रिपोर्ट दिइन्छ, भन्सारले रिपोर्ट पाएपछि खुरुखुरु पठाउँछन्,’ प्रमुख बरालले भनिन्, ‘परीक्षणपछि खान मिल्ने/नमिल्ने, डम्प गर्नुपर्ने/नष्ट गर्नुपर्ने तरकारी पनि आएको हुन सक्छ । बरालका अनुसार केन्द्रीय प्रयोगशालाको बुटवल, नेपालगन्ज, अत्तरिया, झापा, पोखरा, सर्लाही र कालीमाटी शाखामा आरबीपीआर परीक्षण गर्न सकिन्छ । तर कर्मचारी अभावका कारण पोखराबाट हुन सकेको छैन । ‘गत असार मसान्तसम्म ७९ हजार ५ सय ७३ नमुनाको कार्बामेट र अर्गानोफोस्फेट परीक्षण भएका छन् । जसमध्ये २७ नमुनालाई रातो (उपभोग गर्न नमिल्ने) र ५५ नमुनालाई पहेंलो (तत्काल उपभोग गर्न नमिल्ने) चिह्न तोकिएको थियो,’ उनले भनिन्, ‘तर ती दुई विषादीबाहेक अन्यको परीक्षण हुन सकेन । परीक्षण नाम मात्रकै भए, परीक्षण गर्ने निकाय लाचार छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार उपत्यकाका लागि कालीमाटी तरकारी बजारमा दिनमा करिब ८ सय टन तरकारी भित्रिन्छ । यसले उपत्यकाको मागको करिब ७५ प्रतिशत धान्छ । कालीमाटीमा भित्रिने तरकारीमध्ये करिब ४५ प्रतिशत भारतबाटै आउँछ । भारतबाट सिजनल तरकारी आयात हुन्छ । फलफूलमा भने मागको करिब ७५ प्रतिशत फलफूल आयात हुने गरेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । स्वदेशमा केरा, आँप, सुन्तला र स्याउ उत्पादन भए पनि परिमाण नगण्य छ । अधिकांश फलफूल भारतबाटै आयात गरिए पनि परीक्षणमा सरकारी निकाय लाचार छन् । कृषिजन्य वस्तु भारत निर्यात गर्दा भन्सार शुल्क लाग्दैन तर क्वारेन्टाइन र विषादी परीक्षण हुन्छ । ‘भारततर्फ पठाउँदा विभिन्न नाममा अवरोध गरिन्छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने । उनले भने, ‘तर फलफूल र तरकारी आयातका क्रममा विषादी परीक्षणमै लापरबाही गरिन्छ । भारतले खराब समान पठाउँदै आएको छ । त्यसमा नेपाल सरकार केही बोल्नै सक्दैन । उपभोक्ताप्रति जिम्मेवार हुनै सकेको छैन । भारतबाट आयात हुने खाद्य वस्तुमा हाल हुँदै आएको विषादीबाहेकका परीक्षण पनि गर्न सकिने बराल बताउँछिन् । कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अत्याधुनिक प्रयोगशाला छ । काठमाडौंस्थित उक्त प्रयोगशालामा परीक्षण गर्न सकिने भए पनि विभागले चासो नदिएको बरालको आरोप छ । खाद्य ऐन २०२३ अनुसार खाद्यवस्तुसम्बन्धी गुणस्तर परीक्षण विभागले नै गर्ने हो । तर विभाग आफ्नो दायित्वबाट पन्छिएको बरालले बताइन् । ‘गत जेठ १३ को सचिवस्तरीय निर्णयमा खाद्यले नै परीक्षण गर्ने भनिएको छ । तर खाद्यले २ महिनाको म्याद थप माग्यो,’ उनले भनिन्, ‘अहिले खाद्यको काम केन्द्रीय कृषि प्रयोगशालाले गरिदिएको छ ।’ जसले गर्दा आन्तरिक बजारमा उत्पादित तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण हुन सकेको छैन । खाद्य प्रविधि विभागको काम कृषि प्रयोगशालाले गर्दा आन्तरिक उत्पादनको परीक्षण गर्न नसकिएको बरालले बताइन् । खाद्य प्रविधि विभागका प्रवक्ता मोहन महर्जनले तरकारीमा विषादीको मात्रा परीक्षण हुन नसकेको स्विकारे । केन्द्रमा जीसीएमएस, जीसीएमएसएमएस र एलसीएमएस गरी तीन अत्याधुनिक प्रयोगशाला छन् । तर त्यसबाट परीक्षण हुन नसकेको उनले बताए । ‘केन्द्रसहित विभागको विराटनगर, हेटौंडा, भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुरमा क्षेत्रगत ल्याब छन् । तर चाहिने उपकरण छैनन्,’ उनले भने, ‘त्यो नहुँदा परीक्षण गर्न सकिएको छैन, विज्ञहरूका अनुसार पहिलो चरणमा स्वदेशमै उत्पादित तरकारी तथा तरकारीमा प्रयोग भएको विषादीको मात्राको पहिचान गर्नुपर्छ । कति मात्रामा विषादी छर्ने पनि तय हुनुपर्छ । त्यसका लागि खाद्य प्रविधि विभागले मापदण्ड बनाउने हो । पछिल्लो समय किसानले कार्बामेट प्रयोग गर्न छाडेको प्रयोगशालाका सूचना अधिकारी राजीवकुमार भण्डारीले बताए । ‘यसलाई भारतमा पनि बन्देज लगाइएको छ । भारत र नेपालमा नियोनिकोटिनाइड ग्रुप, फंगिसाइड बढी प्रयोग हुन्छ । तर अहिलेको परीक्षणले ती विषादीको मात्रा पत्ता लगाउनै सक्दैन । श्रोत: ईका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार