जुडोकी सोनिया भट्टले रुसकी इरिनाको सामना गर्ने…..

टोकियो — जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० मा कठिन प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको छ । बिहीबार भएको ‘ड्र’ अनुसार उनले महिला ४८ केजीमुनिको स्पर्धामा रुसी खेलाडी इरिना डोल्गोभाको सामना गर्नेछिन् । आमन्त्रित कोटामा ओलम्पिकमा अवसर पाएकी १९ वर्षीया सोनियाले इरिनाविरुद्ध शनिबार निप्पोन बुदोकानमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व वरीयतामा नवौं स्थानमा रहेकी इरिनाविरुद्ध जित हात पार्न सके सोनियाले अन्तिम १६ मा स्थान बनाउनेछिन् । तर, सोनियालाई अन्तर्राष्ट्रिय जुडोमा १७ पदक जितेकी २५ वर्षीया इरिनाविरुद्ध जित हात पार्न त्यति सहज छैन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले डोपिङ प्रकरणका कारण रुसलाई प्रतिबन्ध लगाएकाले इरिनाले ओलम्पिक झन्डामा प्रतिस्पर्धा गर्नेछिन् । महिला ४८ केजीमुनिको स्पर्धामा २८ खेलाडी सहभागी छन् । यसमा इरिनालाई पनि पदकको दाबेदार मानिएको छ । वर्ल्ड जुनियर जुडो च्याम्पियनसिप २०१९ को पहिलो चरणमा मोजाम्बिकका खेलाडीलाई पराजित गरेका आधारमा सोनियाले आमन्त्रित कोटामा टोकियो यात्रा गर्ने अवसर पाएकी हुन् । १३औं दक्षिण एसियाली खेलकुद २०१९ मा कांस्यपदक हात पारेकी उनले एसियन गेम्स २०१८ मा पनि प्रतिस्पर्धा गरेकी थिइन् । अर्की नेपाली खेलाडी कल्पना परियारले पनि शनिबार नै प्रतिस्पर्धा गर्दै छिन् । आमन्त्रित कोटामा सुटिङमा ओलम्पिकमा सहभागी हुने अवसर पाएकी उनले महिला १० मिटर एयर राइफलमा चुनौती पेस गर्नेछिन् । कोरोना भाइरसको महामारीको कारण एक वर्ष धकेलिएको ३२औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुँदै छ । श्रोत:ईका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार