जटिल स्वास्थ्य समस्या भएका संक्रमित बढ्दै…..

मोरङ, बिहीबार प्रदेश १ मामात्र एक हजार १०४ जना कोरोना संक्रमित थपिए । बिहीबार ११५ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार गरिएको छ, जसमा ४६ जनालाई भेन्टिलेटरमा राखिएको छ । बुधबार प्रदेशमा एक हजार १८० जना नयाँ संक्रमित थपिएका थिए । त्यस दिन ९२ जना आईसीयूमा थिए, जसमध्ये ३७ जनालाई भेन्टिलेटरमा राखिएको थियो । केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । त्यसमा पनि सिकिस्त खालका बिरामीको संख्या पनि बढ्दै छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको पछिल्लो साताको तथ्याङ्क हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएको पुष्टि गर्छ । संक्रमितको संख्या बढेसँगै आइसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या पनि बिस्तारै उकालो लाग्न थालेको छ ।

एक साताको तथ्याङ्क

साउन ७ – ४५८ संक्रमित, ३१ जना आइसीयू (१७ जना भेन्टिलेटरमा), मृत्यु ५ जना

साउन ८ – ८४७ संक्रमित, ३६ जना आइसीयू (२१ जना भेन्टिलेटरमा), मृत्यु ८ जना

साउन ९ – १,०९१ संक्रमित, ४२ जना आइसीयू (२४ जना भेन्टिलेटरमा), मृत्यु ८ जना

साउन १० – ६७३ संक्रमित, ५१ जना आइसीयू (२९ जना भेन्टिलेटरमा), मृत्यु ९ जना

साउन ११ – ५४२ संक्रमित, ६३ जना आइसीयू (३४ जना भेन्टिलेटरमा), मत्यु ८ जना

साउन १२ – १,२७० संक्रमित, ७६ जना आइसीयू (३७ जना भेन्टिलेटरमा), मृत्यु ९ जना

साउन १३– १,१८० संक्रमित, ९४ जना आइसीयू (३९ जना भेन्टिलेटरमा), मृत्यु १४ जना

साउन १४ – ११०४ संक्रमित, ११५ जना आइसीयू (४६ जना भेन्टिलेटरमा), मृत्यु ६ जना

१४ जिल्ला रहेको प्रदेशमा सबैभन्दा बढी तराईका जिल्ला झापा, मोरङ र सुनसरी कोरोना संक्रमणबाट नराम्ररी प्रभावित हुँदै गएका छन् । यी जिल्लामा दैनिक नयाँ संक्रमितको संख्या थपिने क्रमसँगै अस्पतालका शय्याहरु पनि भरिँदै गएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा कोभिडका लागि छुट्याइएको आइसीयू र भेन्टिलेटर भरिभराउ हुन थालेको छ । अस्पतालले सिकिस्त बिरामीका लागि ३० आइसीयू, ५ वटा भेन्टिलेटर, ३२ एचडियू र जनरल वार्डमा १० शय्या छुट्याएको छ । शुक्रबार बिहानसम्मको तथ्याङ्क अनुसार कोशी अस्पतालमा २२ जना आइसीयूमा छन्, जसमध्ये ५ जना भेन्टिलेटरमा उपचाररत छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले अस्पतालको शय्या क्रमिक रुपमा बिरामीले भरिन थालेको बताए । अस्पतालमा रहेको भेन्टिलेटर प्याक भएको उनले बताए । उनले भने, ‘यो अस्पतालमा त बिरामी घटेको छैन, निषेधाज्ञा खुकुलो भएसँगै बिरामीहरु आउने जाने क्रम थियो । केही दिन यता बिरामीको संख्या बढ्न सुरु गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भिडभाड तथा चहलपहल बढेको कारण संक्रमण पुनः बढ्न थालेको उनी बताउँछन् । ‘संक्रमितहरु यसरी नै बढ्दै गयो भने चाँडै तेस्रो लहर आउँछ । श्रोत: ‌रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार