मुस्ताङमा खोप तारेर जेनेभासम्म चर्चा पाए…..

काठमाडौँ — हिमालपारिको जिल्ला मुस्ताङको कोबाङस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक काम गर्दै आएका २३ वर्षे लालबहादुर रोक्का रातारात ‘भाइरल’ बने । त्यो पनि जेनेभासम्म । यसको कारण एउटै थियो– लेते र कोबाङबीचको छाप्ताङ खोला बाढीले उर्लिएपछि रोक्काले कोभिड खोपका बट्टा तार्न अपनाएको उपाय । मुस्ताङको छाप्ताङ खोलामा फलामे डन्डीको सहायताले कोरोनाविरुद्धको खोप तार्दै लालबहादुर रोक्का र उनका साथी गगन विक ।  खोलापारि थासाङ गाउँपालिकाका चालक गगन विक हातमा कोभिसिल्ड खोपको ‘सिलप्याक’ लिएर उभिएका थिए, खोलावारि रोक्का । हिउँदमा सुक्खा रहने खोला भए पनि असार १ गते बिहान छाप्ताङ पूरै बौलाएको थियो । असार १ मै कोभिसिल्ड खोपको दोस्रो डोज दिइने भनेर कोबाङ र टुकुचेका गाउँघरमा सूचना पुगिसकेको थियो । त्यो बिहान गाउँघरबाट खोपको दोस्रो डोज लगाउन भनेर ५५ वर्षमाथिका गाउँलेलाई स्वास्थ्य चौकीमा बोलाइएको थियो । घण्टौं हिँडेर गाउँलेहरू चौकीमा आउने क्रममा थिए,’ आइतबार काठमाडौंमा भेटिएका रोक्काले सुनाए, ‘त्यही बेला ठूलो पानी परेर बाढी उर्लियो । आफूसँग बर्सादी नभएकाले चौकीमा भेटिएको पुरानो पीपीई लगाएर म छाप्ताङ खोला पुगेको थिएँ । साथमा टुकुचे स्वास्थ्य चौकीका अहेव सविन खत्री पनि थिए । उता लेतेबाट खोप बोकेर गगन विक खोलापारि आइपुगेका थिए । अनि मैले उपाय लगाएर खोला किनारमा भेटिएको फलामे डन्डीमा अड्याएर खोप रहेको बक्स वारपार गराएको थिएँ ।’ काठमाडौंबाट पोखरा हुँदै जोमसोम आएको ‘कोभिसिल्ड’ मध्ये कोबाङका लागि ६४ र टुकुचेका लागि ४३ डोज ल्याउने जिम्मा रोक्का र खत्रीले पाएका थिए । यसरी, बर्खामाझ उर्लिएको स्थानीय पहाडी खोलापारिबाट खोप आफ्नो स्वास्थ्य चौकीसम्म ल्याउनैपर्ने बाध्यतामाझ रोक्काले लगाएको जुक्तिले उनलाई देश–विदेशमै चिनायो । मुस्किलको घडीमा रोक्काले देखाएको ‘जोखिमको सहयोगी कामलाई’ सम्मान गर्दै बारबरा फाउन्डेसनले शनिबार मात्रै १ लाख रुपैयाँ राशिसहित पुरस्कृत गर्न काठमाडौं बोलाएको थियो । बारबरा फाउन्डेसनबाट पुरस्कृत भएपछि आइतबार मात्रै उनले सिमलामा स्याउ टिपिरहेका बाबुलाई खुसीको खबर सुनाए । अनि रुकुम घरैमा बसेकी आमालाई पनि खुसी बाँडे । ‘छाप्ताङ खोला पुगेपछि म अलमलिएको थिएँ, खोला तर्न पनि सकिने अवस्थै थिएन । पारिपट्टि खोप लिएर साथी उभिएका थिए । तर अचानक जुक्ति आयो र त्यसले काम गर्‍यो,’ खुसी हुँदै रोक्काले भने । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार