कोभिशिल्ड नआउँदा थोरै संख्याका नागरिकले दोश्रो डोज पुरा गर्न पाएनन्…..

पोखरा, हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् । कोभिशिल्ड खोप अभावमा थोरै संख्याका नागरिकले मात्र खोपको मात्रा पुरा गर्न नपाएको स्वास्थ्य कार्यालयको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यका अनुसार मनाङमा १८ वर्ष उमेर माथिका नागरिकको संख्या ४५ सय अनुमान गरिएको थियो । तर, अहिलेसम्म १८ वर्ष माथिका ४१ सय ९८ जनाले खोप लगाएका छन् । ती मध्ये १६५ जनाले मात्र कोभिशिल्डको दोश्रो खोप पाएका छैनन । अरु सबैले खोपको मात्रा पुरा गरेको आचार्यले जानकारी दिए । ४ हजार ३३ जनाले पूर्ण खोप पाएका छन् । हिमाली जिल्ला मनाङमा १८ वर्ष उमेर समुह माथिका नागरिकको संख्या ४५ सय अनुमान थियो । तर, ४१ सय ९८ जनाले लगाएका छन,’ आचार्यले भने, ‘कोभिशिल्ड अभावमा १६५ जनाले पूर्ण खोप लगाउन बाँकी छ । खोप नै नभएकोले उनीहरुले दोश्रो डोज पुरा गर्न नपाएका हुन् ।’ पहिलो खोप लगाएको अवधि पुरा नहुँदा दोश्रो डोज लगाउन ती नागरिक छुटेको उनले बताए । ४५ सयले खोप लगाउनुपर्ने अनुमान भएपनि बाढीपहिरोको कारणले केही जिल्लाबाहिर गएको अनुमान रहेको आचार्यले बताए । बाढीपहिरो आएपछि जिल्लाका कतिपय नागरिक पोखरा, काठमाडौं लगायतका सहरमा झरेका छन । त्यसैले गर्दा पनि अनुमान गरे जतिले लगाएनन,’ उनले भने । हिमाली जिल्लाका नागरिक बिरामी परिहालेको खण्डमा तत्कालै उपचार गर्न जान नपाउने अवस्था भएकोले पनि दुवै डोजको खोप पुरा गर्नमा आफुहरुले प्राथमिकता दिएको उनले बताए । असार पहिलो सातापछिको बाढी पहिरोले एकअर्का गाउँबीचको आउजाउ रोकिँदाको बाबजुत पनि खोप अभियान पुरा गरेको उनले बताए । ‘खोप जोगाउन समेत हम्मेहम्मे भएको थियो । बाढीपहिरो पछि त गाउँमा खोप पु¥याउन पनि सकस भयो,’ उनले भने, ‘कहिले हेलिकप्टर त कहिले बोकेर गाउँमा खोप पु¥याउन सकियो । अर्काे हिमाली जिल्ला मुस्ताङले पनि १८ वर्ष उमेर माथिका सबै नागरिकका लागि खोप पुरा गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीका अनुसार मुस्ताङका ९ हजार ५ सय ८ जनाले खोप लगाएका छन् । ९३ सयलाई खोप दिनुपर्ने अनुमान भएपनि जिल्लामा कर्मचारी, सुरक्षाकर्मी, व्यवसायीलाई समेत लगाउँदा ९ हजार ५ सय ८ जना पुगेको भण्डारीले बताए । सानो आकारको जनसंख्या र टाढाको बस्ती भएको हुनाले पनि हिमाली जिल्लाका नागरिकलाई खोपमा पहिलो प्राथमिकता दिइएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ५ लाख २३ हजार ३ सय २० जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । ती मध्ये १ लाख ७७ हजार ११ जनाले खोपको मात्रा पुरा गरेका छन् । श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार