ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो…..

काठमाडौँ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन्। आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने, ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ। त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ। केही विषयमा सहमति भएका छन् तर धेरै विषयमा सहमति भएको छैन’, उनले भने।सहमतिको प्रस्ताव आएकै बेला काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्षले माधव नेपाल राष्ट्रद्रोही हो भनेको प्रसंग उल्लेख गर्दै नेपालले थपे, ‘एक दिनअघि प्रस्ताव गर्ने, भोलिपल्ट अर्कै भाषण गर्ने कुराले परिस्थिति बिगारेको छ। अध्यक्षको प्रस्ताव आएको छ तर केही पनि टुंगो लागेको छैन। उनी नजिकका नेताहरू त्यो हुन्न भनिरहेका छन्।’ नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग झुक्न नहुने बताए । उनले पार्टीभित्रको विवाद मिलाउने मुख्य जिम्मेवारी अध्यक्षको नै भएको बताए। केन्द्रीय सदस्य अरूण नेपालले एमाले देशकै सर्वाधिक ठूलो र संगठित शक्ति भएको बताउँदै यो शक्ति फुट्यो भने यसबाट एमालेमात्र नभई सिंगो राजनीतिक क्षेत्र प्रभावित हुने बताए। ‘पहिलो असर संविधानमा पर्छ। हामी फुट्दा, कमजोर हुँदा लोकतन्त्र, गणतन्त्रविरोधीले संविधानमाथि आक्रमण गरेर ध्वस्त बनाउने कोसिस गर्छन् । दोस्रो, विशिष्ट कारणले सत्ता कांग्रेसको हातमा गए पनि सर्वाधिक ठूलो शक्ति वामपन्थी मिले भने सत्ता उनीहरूकै हातमा हुन्छ र वामपन्थीले जे भन्छन्, त्यही हुने अहिले पनि स्थिति छ। हामी आफ्नै समूहभित्र एकताबद्ध हुनुपर्छ। समूहभित्र पनि लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनुपर्छ। नत्र निर्णय स्वीकार्य हुँदैन। एकता प्रक्रियाका विषय र अजेन्डामा स्थायी कमिटी सदस्यहरूको रायका आधारमा मात्रै चल्ने काम बन्द गरौं’, उनले भनिन्। पहिलो दिनको बैठकमा झपट रावल, बलराम बाँस्कोटा, सावित्रा भुसाल, शेरबहादुर केसी, अनु नेपाल, चूडामणि जंगली, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतले पनि बोलेका थिए। उनीहरूले सम्मानजनक एकताका पक्षमा धारणा राख्नै एकताको पहल गर्ने जिम्मा अध्यक्ष ओलीकै भएको बताएका थिए। श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार