हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने…..

काठमाडौँ — राष्ट्रिय सभा सदस्य खिमलाल देवाकोटाले शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउनुपर्ने सुझाव दिएका छन् । वर्तमान सरकारले पारदर्शी शासन व्यवस्थाका लागि हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय सभाको आइतबारको बैठकमा देवकोटाले भने, ‘यो सरकारले हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा गरिरहेका काम कारबाहीको बारेमा जाकारी दिन कोठाबाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरू पारदर्शी भएनन् । राज्यका अंगहरू पारदर्शी भएमा जनताले सबै कुरा देख्ने र ती अंगमा बस्ने पदाधिकारीले गलत काम गर्न नपाउने देवकोटाले बताए । ‘पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागज मिलाएर राति २ बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन,’ उनले भने, कर्मचारीका हरेक कोठामा सीसी क्यामेरा राखेमा उनीहरूका अनावश्यक क्रियाकलापमा बन्देज लाग्ने देवकोटाले बताए । कर्मचरीका अनावश्यक भेटघाट रोकिने, कार्यालय समयमा आइपुग्ने, कार्यालय छोडेर एनजिओ/आइएनजिओका कार्यक्रम र अनावश्यक रूपमा रिबन काट्न जाने बानीमा सुधार आउने, विचौलियाहरूसँगको उठबस हट्ने उनको भनाइ थियो । त्यस्तै, कर्मचारीले राति कार्यालयमा बसेर नीतिगत भ्रष्टाचार र ठेक्कापट्टाका कागजपत्र मिलाउनेजस्ता कानुन विपरीतका काम गर्ने प्रवृतिको अन्त्य हुने पनि उनको भनाइ छ । राज्यका संयन्त्रको स्थापना जनतालाई प्रभावकारी रूपमा गुणस्तरीय सेवा दिनका लागि हुने भन्दै सांसद देवकोटाले त्यसका लागि सरकार तयार हुनुपर्ने धारणा राखे । ‘जुनसुकै शासन व्यवस्था भएता पनि यसको मूल उद्देश्य जनतालाई छिटो–छरितो तरिकाले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्नु हो । सेवासँग विकास र समृद्धि पनि जोडिएको हुन्छ । यस्तो गर्दा दूरदराजदेखि समस्यामा परेर आएका जनताले आफ्ना कुरा सुनाउन पाउने र कर्मचारीमा जवाफदेही भावनाको विकास पनि हुने भन्दै संघ, प्रदेश र स्थानीय तहका कर्मचारीका कोठा-कोठामा सीसी क्यामेरा राख्न उनले सुझाव दिएका हुन् । शासन व्यवस्था परिवर्तन भएपनि जनताले राज्यबाट अपेक्षा गरेअनुसारको सेवा नपाएको गुनासो सर्वत्र रहेको पनि देवकोटाको भनाइ थियो । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंगहरू निरन्तर क्रियाशील हुनुपर्ने उनले बताए । त्यसैगरी राज्यका अंगहरू रचनात्मक, पारदर्शी र जवाफदेही हुन पनि आवश्यक रहेको उनको धारणा थियो ।  श्राेत: इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार