केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन…..

काठमाडौं, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशन सार्ने सम्बन्धमा मतभेद देखिएको छ । बूढानीलकण्ठमा जारी विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको हो । संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक्षले भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि नै सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन भनेको छ । आगामी भदौ १६–१९ का लागि निर्धारित महाधिवेशन प्रभावित भएपछि काँग्रेसमा नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको छ । विहीबार देखि सुरु भएको केन्द्रीय कमिटीमा बैठकमा आउने रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काको भनाइ छ । उनका अनुसार शनिबारको बैठकमा नयाँ कार्यतालिका ल्याउने तयारी छ । भदौमा वडा अधिवेशन गरेर मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका आउने सम्भावना रहेको नेताहरुको भनाइ छ । बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सहमति बेगर महाधिवेशनका सन्दर्भमा कुनै पनि विकल्पमा जान नहुने बताए । उनले भने, ‘जे गर्ने हो, सहमतिमै गरौं । सहमति नगरेर आ–आफ्नो धारण बोकेर हामी बाहिर जाँदा हाम्रो पार्टी संकटमा पर्छ । धारणा एक अर्कासँग मिल्छ मिल्दैन, आफ्नो ठाउँमा छ । तर, पार्टीका लागि, पार्टीको भविष्यका लागि, पार्टीको वैधानिकता बचाउनका लागि धारणा एक अर्कासँग मिलाऊँ । सिटौलाले आफू सबै विकल्पका लागि तयार भएको पनि बताए । ‘म सबै विकल्पमा सहमत हुन तयार छु । भदौ २३ गतेअघि वडा अधिवेशन गरेर दसैँअघि महाधिवेशन सक्ने हो सहमतिमा गरौं । होइन भने भदौ २३ गतेपछि वडा अधिवेशन गरेर मंसिरमा महाधिवेशन गर्ने भए पनि गरौं । म मान्छु,’ सिटौला भन्छन्, ‘तपाईंहरुले पनि मान्नुपर्यो । अथवा छठपछि वडा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन सक्ने कुरा पनि म मान्छु । यस्तै नेता प्रकाशमान सिंहले निर्धारित मितिमा महाधिवेशन नभए पनि चाडो महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुपर्ने बताए । ‘महाधिवेशन हुने हो कि होइन भन्ने नेता कार्यकर्तामा चासो छ । यसलाई प्रस्ट पार्नुपर्छ । निर्धारित मितिमा महाधिवेशन नभए पनि जतिसक्दो चाडो महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुर्छ । यस्तै शुक्रबार बोल्ने अन्य केन्द्रीय सदस्यहरुले पनि महाधिवेशनको सुनिश्चिता, पार्टीको वैधानिकताका विषयमा धारणा राखेका थिए । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू व्यवस्था छैन । आफूहरुका माग पुरा नभए सामूहिक राजीनामाको चेतावनी दिएको आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले बताए ।  श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार