विभाजित हुने कम्युनिस्ट टुटफुटको अध्यायमा…..

काठमाडौँ — सैद्धान्तिक भन्दा पनि व्यक्तिगत अहम् र महत्वाकांक्षाका कारण विभाजित हुने कम्युनिस्ट टुटफुटको अध्यायमा बुधबारबाट फेरि अर्को नयाँ पाठ थपिएको छ । आफूलाई कम्युनिस्ट आन्दोलनको मुलधारको रुपमा दाबी गर्दै आएको ‘एमाले’ औपचारिक रुपमै दुई चिरा परेको छ । यसअघि महाकाली सन्धीको विषयमा पार्टी भित्र विवाद हुँदा २०५४ सालमा एमाले विभाजित भएको थियो । तर, २०५८ सालमा पुनः एकिकृत हुँदै शक्तिआर्जन गरेको एमाले अहिले शीर्ष नेताहरूको कार्यशैली र अहम् व्यवस्थापनमा चुक्दा फेरी विभाजनमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । योसँगै झापा आन्दोनलको धारबाट विकशित हुँदै मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टी बनेको दल दोस्रोपटक टुक्रिएको छ । ओलीले नेपाललाई यसअघि नै ‘गद्दार’, ‘देशद्रोही’ करार गरिसकेका थिए । पार्टीबाट निष्कासन गर्दै ‘आममाफी’ पनि दिँदै आएका थिए । तर, ओलीले नेपाल पार्टीको नीतिभन्दा बाहिर गएर सिद्धान्तबाटै विचलित हुँदै कांग्रेसको पिछलग्गु बनेको आरोप लगाएका छन् । विगतमा कम्युनिस्ट पार्टीहरू विभाजित हुँदा जे जस्ता व्यक्तिगत लाञ्छनाहरू र आरोपहरू लाग्थे, ती आरोपहरू यसपटक फेरी दोहोरिएका छन् । यो झगडा सैद्धान्तिकभन्दा बढ्ता व्यक्तिगत छ । तर, अध्यक्ष केपी शर्मा ओली र विद्रोही नेता माधवकुमार नेपाल दुवैले विभाजनलाई सैद्धान्तिक मतभेदका रुपमा विश्लेषण गर्ने कोशिस गरेका छन् । यता नेता नेपालले पनि ओलीले पार्टीका नीति, विचार, सिद्दान्तहरूलाई लत्याएर निरंकुश, तानाशाही बाटोमा हिँडेको आरोप लगाउँदै आएका छन् । उनले बुधबार पार्टी विभाजनको स्पष्टीकरणका लागि जारी गरेको अपिलमा पनि यी कुरा उल्लेख गरेका छन् । अझ उनले कम्युनिस्ट आन्दोलनलाई ओलीले नै विसर्जनको बाटोमा लैजान खोजेकाले पार्टीको मुलधारलाई जोगाउन विद्रोह गरी एमाले पुनगर्ठनको बाटोमा गएको उल्लेख गरेका छन् । ओली र नेपालका तत्कालिन राजनीतिक सहयात्री समेत रहेका मालेका महासचिव सिपी मैनाली अहिलेको एमालेको विभाजनलाई ‘व्यक्तिगत स्वार्थ’ कै एक परिणामको भएको बताउँछन् । ‘व्यक्ति र गुटको स्वार्थ, सत्तामा पुग्ने र त्यसको दुरुपयोग गर्ने प्रवृतिले निम्त्याएको संकट हो । जनताको धेरै ठूलो समर्थन पाएपनि त्यसलाई उनीहरूले सदुपयोग गर्न सकेनन्,। श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार