आज जनै पूर्णिमा पशुपतिमा भक्तजनको घुइँचो…..

काठमाडौं, हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौँको पशुपतिनाथ सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ । आजको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । सत्ययुगमा दानवहरूद्वारा लखेटिएका देवताहरूलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरू अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ । सोही कथनअनुरूप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने गर्दछन् । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार