‘ब्याक’ भएमात्रै कारवाही फिर्ता, बालकोटको सहमतिको अर्थ छैन…..

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै तेस्रो धारका नेताहरुबीच भएको छलफलले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको छ । नेता नेपाल नयाँ पार्टी दर्ता प्रक्रियामा गइसकेकाले एमालेमा नफर्कने निष्कर्ष बालकोट बैठकले निकालेको हो । बालकोट बैठकमा अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलसँग तेस्रो धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघु पन्त सहभागी थिए ।अध्यक्ष ओलीको निजी निवास बालकोटमा तीन घण्टा दुई पक्षबीच भएको छलफल यसअघि कार्यदलले तयार पारेको एकताको प्रस्ताव कार्यान्वयन गर्ने विषयमा केन्द्रित भएको थियो । बैठकले नेताहरु भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेललाई १० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्ने जिम्मेवारीसमेत दिएको छ । बैठकको अन्तिममा प्रवक्ता प्रदीप ज्ञवाली पनि सहभागी बनेका थिए । उक्त बैठकमा खासगरी तीनवटा विषयमा सैद्धान्तिक सहमति भएको नेताहरुले बताएका छन् । माधव नेपालसहितका १४ नेतामाथिको कारवाही फिर्ता गर्ने सैद्धान्तिक सहमति भएको छ । तर, त्यसअघि नेता नेपालले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्नुपर्नेछ’, ओलीसँगको छलफलपछि एक नेताले भने, ‘कारवाही र नयाँ पार्टी दर्ता आपसमा सम्बन्धित छन् । सोमबारको बैठकले जुटाएको दोस्रो सैद्धान्तिक सहमतिमा माधव नेपालसहितका १४ नेताहरुमाथिको कारवाही फिर्ताको विषय छ । कारवाही फिर्ताका लागि नेता नेपालले नयाँ पार्टी दर्ता प्रक्रियाबाट पछि हट्नुपर्ने छ । ​तीन नेताले भोलि ११ बजे बस्ने स्थायी समितिको बैठकअघि नै १० बुँदे प्रस्ताव कार्यान्वयनको मोडालिटी तयार गरिसक्ने र त्यसमा छलफल गरेर स्थायी समितिमा पेश गर्ने सहमति भएको छ । माधव नेपाल पक्षका नेता बेदुराम भुसालले अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच भएको भनिएको उक्त सहमतिको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् । त्यस किसिमको सहमतिको कुनै अर्थ छैन’, भुसालले  भने,  धेरै ढिला भइसक्यो । नेता भुसालले नयाँ पार्टी दर्ता प्रक्रियाबाट पछि फर्कने सम्भावना नरहेको बताए । ‘अवस्था धेरै अघि बढिसक्यो, उहाँहरु पुरानै कुरामा अल्झिनुभएको छ । अब हामी पछि फर्कने भन्ने सम्भावना छैन’, भुसालले संक्षिप्त प्रतिक्रिया दिए । नेता नेपालको संयोजकत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । उक्त निवेदनमा निर्वाचन आयोगले भदौ ९ गते केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको छ । सो दिन सांसद र केन्द्रीय सदस्यहरु उपस्थित भएर सनाखत गरेपछि नेता नेपालको पार्टीले आधिकारिकता पाउने छ । ओली जेठ २ मा फर्किएको भनेर फागुन २८ मा फर्किएका थिए । एमाले विवादमा गत असार २७ गते ओली र नेपाल पक्षका १० नेताहरु सम्मिलित कार्यदलले पार्टी एकताको आधार भन्दै १० बुँदे प्रस्ताव सार्वजनिक गरेको थियो । तर, उक्त प्रस्ताव कार्यान्वयनमा ओली सकारात्मक नभएपछि नेता नेपाल नयाँ पार्टी दर्ताका लागि अघि बढेका थिए । एमालेका एक नेताका अनुसार सोमबारको बालकोट वार्ता र छलफल तेस्रो धारका नेताहरुका लागि ‘फेस सेभिङ’ गर्ने बहाना मात्र हो । ‘माधव नेपालले नयाँ पार्टी गठन गर्ने बेलामा माधवतिर नलागेर स्वतन्त्र बसेका नेताहरु अलमलमा थिए’ ती नेता भन्छन्, ‘अर्कोतिर कार्यदलले तयार पारेको १० बुँदे अलपत्र थियो । केही दिन स्वतन्त्र बसेर पुन ओलीतिर नै लाग्न उनीहरुले बाहाना खोजेका थिए । उनीहरुलाई १० बुँदे कार्यान्वयन गर्न ओलीलाई बाध्य पार्यौ भन्नेबाहेक अरु केही होइन । सोमबारको बालकोट छलफलपछि प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपालले अर्कै बाटो तय गरिसकेकाले उहाँ फर्कनुहुन्छ भन्ने विश्वास गर्न नसकिने बताए ।  श्रोत:रापा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार