निर्वाचन आयोग पुगेका एमालेका चार सांसदको पद धरापमा……

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो । माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार गरेको छ । शुरुमा नेपाल समूहमा नलागी पछि निवेदन दिएका चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद हुन् । भट्ट राष्ट्रियसभा सदस्य हुन् । आयोगले पछि परेको निवेदनमा सनाखत नगर्ने भनेपछि बुधबार यसबारे आयोगका पदाधिकारी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच केहीबेर गर्मागर्मी बहस भएको थियो । अन्ततः आयोगले उनीहरुलाई सनाखतमा सहभागी नगर्ने निर्णय सुनायो । निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब उनीहरुले सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने भएको छ । उनीहरु अब माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित छ । आयोगका एक पदाधिकारीले रातोपाटीसँग भने, ‘अब उहाँहरुलाई एमालेले कारवाही गरेन र मूल पार्टीमै रहनुभयो भने पद जाँदैन, नयाँ पार्टीमा लाग्ने हो भने सांसद पद गुम्छ । तर, नेकपा एमालेले भने विहीबार बस्ने केन्द्रीय कमिटीको बैठकबाट यी चारजना सांसदसहित माधव नेपालको पक्षमा लागेका सबै सांसदहरुलाई प्रक्रिया पुर्याएर कारवाही गर्ने एमालेका एक नेताले जानकारी दिए । नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरुमै लागेका ३० सांसदको भने पद जोगिएको छ । एमालेले कारवाही गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएकाले उनीहरुको समेत सांसद पद जोगिएको छ । तर, ढिलो गरी नेपाल पक्षमा खुलेका चारजनाले भने सांसद पद नै गुमाउनुपर्ने अवस्था आएको छ । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार