वर्षाले फेरि डुबायो, ठाउँ–ठाउँमा सडक अवरूद्ध…..

काठमाडौँ — बिहीबार साँझदेखि लगातार वर्षा हुँदा तराईमा डुबान र पहाडी क्षेत्रमा पहिरोले धनजनको क्षति गरेको छ । पश्चिम नवलपरासी र दाङमा तीन जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । पूर्वी नवलपरासी र सिन्धुलीमा चार जना बेपत्ता छन् । तराईका कतिपय जिल्लामा डुबानका कारण हजारौं विस्थापित भएका छन् । पूर्व पश्चिम राजमार्गलगायतका सडक अवरुद्ध हुँदा सयौं गाडी अलपत्र परेका छन् । पश्चिम नवलपरासीको रामग्राम–१८ मा बाढीले बगाउँदा ३७ वर्षीय विनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीपको मृत्यु भएको डीएसपी राजु लामाले बताए । बाढीले बगाउँदा सुनवल–४ की १३ वर्षीया एलिसा तामाङ बेपत्ता छिन् । परासी, सुनवल, प्रतापपुर र सुस्तामा ७ सय घर डुबानमा छन् । स्थानीय तहसँग समन्वय गरेर उद्धार र राहतका काम गरिरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । ‘राजमार्ग अवरुद्ध भएको र पानीको सतह बढ्दा उद्धार र राहत वितरणमा समस्या भएको छ,’ उनले भने, ‘सुरक्षाकर्मीबाट उद्धारको प्रयास गरेका छौं । बिहीबार राति बाढी पसेपछि सदरमुकामका सयौं घर डुबानमा परेका छन् । बाढी प्रभावित स्थानीय विद्यालयमा छन् । जिल्ला प्रशासनका अनुसार सुनवल खकरीबारीमा १ सय ९६ घर डुबेका छन् । सुस्तामा नारायणी पस्दा ५० भन्दा बढी घर जलमग्न बनेको स्थानीयले बताए । नारायणी नदीको भेल तटीय क्षेत्रको थारूटोलबाट बस्तीमा पसेको सुस्ताका बाढी प्रभावित सामुदायिक भवनमा बसिरहेका स्थानीय मुन्सी कुँवरले बताए । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा पाँच वर्षपछि झरही खोला पसेको छ । ठूलो पानी पर्दा सामान्य डुबान हुने भए पनि खोला बस्तीमा पस्ने स्थानीयले अनुमान गरेका थिएनन् । रामग्राम–४ की यशोदा चौधरीले बिहीबार मध्यराति घरमा बाढी पसेको बताइन् । ‘राति भएकाले अन्नपात र लत्ताकपडा जोगाउन सकिएन,’ उनले भनिन्, ‘एक्कासि पानी पस्यो, ज्यान जोगाउनै मुस्किल भयो ।’ घरमा अन्न नरहेको उनले बताइन् । ‘भोकै बस्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘बालबच्चालाई के खुवाउने ! बाँके, राप्ती सोनारीको बुद्धचोकका गोलु चौधरी शुक्रबार बिहान ३ बजेतिर निद्रामै थिए । बाढीको हल्लाले निद्रा खुल्यो । घरमा बाढी पस्न सुरु भइसकेको थियो । परिवारका सबैलाई उठाएर घर छोडे । घर भत्कियो । अहिले उनीहरू छिमेकीको शरणमा छन् । ‘दुई दिनदेखि पानी परेको थियो तर यसरी बाढी आउला भनेर सोचेकै थिएनौं,’ उनले भने, ‘घरबाट केही निकाल्न पाइएन । अन्नपात सबै नोक्सान भयो ।’ वडा ४ कै हिरू मुकेरी, लटकनिया गाउँका आशाराम थारू, राजपुरका सुमन दमै र वडा ५ का प्रकाश गिरीको घर पनि बाढी पसेर भत्किएको छ । मोरगंवा खोला र जंगलबाट बगेर आएको खोलाको बाढी बस्तीमा पसेको हो । बाढीपीडित आशाराम थारूले घरभित्र कुमसम्म पानी जमेको बताए । ‘उज्यालो नहुँदै एक्कासि बाढी पसेकाले धेरै क्षति भयो,’ उनले भने । घर भत्किएपछि छिमेकीकहाँ परिवारसहित शरण लिएको उनले बताए । श्राेत: इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार