काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने…..

एजेन्सी, बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ । बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए । इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्त (आईएस–के) ले उक्त हमलाको जिम्मेवारी लिएको छ । यसको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ । मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ । तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन । ‘यो अन्तिम आक्रमण होइन । हामी उक्त विभत्स आक्रमणमा संलग्नहरूको खोजी कार्यलाई जारी राखेर उनीहरूलाई मूल्य चुकाउन बाध्य पार्ने छौँ,’ बाइडेनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । काबुल विमानस्थलबाट अमेरिकी सेना पनि फर्किन थालेका छन् । गत हप्ता ५ हजार ८ सय सेना रहेकोमा हाल करिब ४ हजार सेना विमानस्थलमा रहेका छन् । ह्वाइट हाउसले अबका केही दिन थप चुनौतीपूर्ण र खतरनाक हुन बताएका छ । तालिबानले विमानस्थल वरपर चेकजाँचलाई थप बढाएको छ । दुई हप्ता यता १ लाख १० हजारभन्दा बढी अमेरिकी र अफगान नागरिकको अफगानिस्तानबाट उद्धार भइसकेको छ । आईएस–के अफगानिस्तानमा रहेका जिहादी सशस्त्र समूहमध्ये सबैभन्दा चरमपन्थी र हिंस्रक मानिन्छ । तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको उसको आरोप छ । यता, तालिबानले भने अमेरिकाको ड्रोन हमलाको आलोचना गरेको छ । कुनै पनि आक्रमण गर्दा आफूसँग सल्लाह हुनुपर्ने तालिबानको भनाइ रहेको छ । बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार