माथिल्लो तामाकोशी आयोजना सम्पन्न हुने संघारमा…..

काठमाडौं, निर्माण शुरू भएको १० वर्षपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने संघारमा पुगेको छ । ४५६ मेगावाट क्षमतायुक्त राष्ट्रिय गौरवको सूचीमा परेको आयोजना निर्माण २०६८ मा शुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गरेका थिए । निर्माण शुरू भएको १० वर्ष अर्थात आर्थिक वर्ष २०७४ सालभित्र आयोजना निर्माण सकेर व्यवसायिक रुपमै विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । तर, करिब ४ वर्ष ढिला गरी आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन शुरू हुन लागेको हो । आयोजनाले यही भदौ १५ गतेदेखि ६ वटै युनिटबाट पूर्ण क्षमतामा उत्पादन थाल्ने योजना बनाएको थियो । तर, विद्युत परीक्षण गर्ने कर्मचारीहरूमा कोभिड संक्रमण देखिएपछि एउटा युनिटको परिक्षणमा ढिलाइ भएको थियो । सोहीकारण आयोजनाबाट पूर्ण क्षमतामा व्यवसायिक विद्युत उत्पादन महिनाको अन्तिममा धकेलिएको प्रमुख श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले यही महिनाको अन्तिम (२३/२४ गते) देखि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन थालिने जानकारी दिएका छन् । उनले हाल पाँचवटा युनिटबाट ७६/७६ मेगावाट विद्युत उत्पादन शुरू भइसकेको बताए । ‘पाँचवटा युनिटबाट ३८० मेगावाट विद्युत व्यवसायिक रुपमै उत्पादन भइरहेको छ । उत्पादित विद्युत बिक्री गर्न थालिएको छ,’ श्रेष्ठले भने ।

पटकपटक म्याद थप, आयोजनाको लागत दोब्बर

वि.स. २०६७ सालदेखि निर्माण शुरू भएको राष्ट्रिय गौरवको आयोजना निर्माण २०७३ सालमै सक्ने लक्ष्य लिइएको थियो । तर, २०७२ सालको वैशाखमा आएको विनाशकारी भूकम्प र सोही वर्ष भारतले नाकाबन्दी लगाउँदा आयोजना निर्माणकार्य धकेलियो । २०७३ सालमा नसकिने भएपछि आयोजनालाई ७४ सालमै सक्ने नयाँ लक्ष्य तय गरिएको थियो । आयोजना निर्माण शुरू गर्दा ब्याज रकम १४ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर, समयमै नसकिँदा लागतको ब्याज बढेर ३४ अर्ब रुपैयाँ पुगिसकेको छ । आयोजनाको कुल लागत र ब्याज जोड्दा ८६ अर्ब रुपैयाँ हुन आउँछ । यो रकम आयोजनाको निर्माण शुरू गर्दा अनुमान गरिएको सुरूवाती लागतभन्दा करिब दोब्बर बढी हो । आयोजनाको निर्माण शुरू गर्दा अनुमानित लागत ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, आयोजना सम्पन्न गर्न थप चार वर्ष लागेपछि लागत बढेर दोब्बर पुग्यो । आयोजनाको कूल लागत अहिले ५२ अर्ब रुपैयाँ पुगेको छ । सो वर्ष पनि काम नसकिने भएपछि आयोजनाले २०७७ सालमा व्यवसायिक रुपमै विद्युत उत्पादन थाल्ने अर्को नयाँ लक्ष्य राख्यो । फेरि २०७६ सालदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले आयोजना सम्पन्न हुने समय थप घर्कियो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भूकम्प, भारतीय अवरोध र कोभिड महामारीका कारण आयोजना सम्पन्न हुने मिति लक्ष्यभन्दा पछि धकेलिएको बताए । आयोजना सकिँदासम्म माथिल्लो तामाकोशीको विद्युत लागत प्रतिमेगावाट १८ करोड ६४ लाखभन्दा माथि पुग्नेछ । आयोजना शिलान्यास गर्दा प्रतिमेगावाट साढे १० करोड रुपैयाँमा विद्युत उत्पादन हुने आंकलन गरिएको थियो । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार