एमसीसी उपाध्यक्ष अर्को साता नेपाल आउँदै…..

काठमाडौँ — अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमामा ढिलाइ भइरहेका बेला एमसीसीकै उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने भएकी छन् । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने भएका छन् । एएसीए नेपालका अध्यक्ष खड्गबहादुर विष्टका अनुसार उपाध्यक्ष सुमरको टोली अर्को साता नेपाल आउनेछ । नेपाल बसाईका क्रममा एमसिसीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्नेछ ।  नयाँ सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई छिटो अनुमोदन गर्नुपर्ने भन्दै सत्तागठबन्धनका नेताहरूलाई कन्भिन्स गर्न खोजिरहेका छन् । मन्त्रिपरिषद् विस्तारको ‘गाँठो फुकाउन’ मंगलबार बालुवाटारमा बोलाइएको सत्तारूढ दलको बैठक एमसीसी विवादतिर मोडिएको थियो । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक बोलाउने र एमसीसी सँगको सम्झौता अनुमोदन गराउने विषयलाई सत्ता घटक दलको बैठकमा प्रवेश गराएका थिए । अमेरिकी विदेश मन्त्रालयले डेढ महिना अघि सार्वजनिक गरेको ‘२०२१ इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स : नेपाल’ प्रतिवेदनमा एमसीसी सम्झौता संसद्‍बाट  अनुमोदन गर्न ढिलाइ हुनु सम्भाव्य लगानीकर्ताका लागि राम्रो संकेत नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । २०७७ असार १६ गतेसम्म सबै प्रक्रिया पूरा गरेर सम्झौता कार्यान्वयनमा जाने नेपालको प्रतिबद्धता थियो । तत्कालीन सत्तारूढ नेकपाको आन्तरिक विवादले सम्झौता अनुमोदन प्रक्रिया अघि बढाइएको थिएन भने पछिल्लो समय यो विषय प्राथमिकताको केन्द्रभन्दा बाहिर थियो । नेपालले ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने गरी एमसीसीसँग २०७४ भदौ २९ मा सम्झौता गरेको थियो । चार वर्ष पुग्नै लाग्दा पनि सम्झौता कार्यान्वयन नभएपछि अमेरिका असन्तुष्ट छ । श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार