चार दिदीबहिनीको तीज–सपनाको पनि दुःखद अन्त्य भयो …..

दाङ — तीजका लागि कपडा किन्न बुधबार बिहानै गाडी रिजर्भ गरेर उनीहरू भारतको रुपैडिहा बजार पुगे । किनमेल गर्दागर्दै झमक्क साँझ पर्‍यो । घोराही आइपुग्दा रातको १० बजिसकेको थियो । घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्ने खोलामा बाढी उर्लिएकाले ठूला गाडीसमेत रोकिएका थिए । चालकले उनीहरू सवार कारलाई भने अगाडि बढाइरहे । खोला पार गर्दागर्दै बाढीले कार बगायो । कारसँगै चार दिदीबहिनीको तीज–सपनाको पनि दुःखद अन्त्य भयो । एकै घरका दिदीबहिनीसहित चार जनाको ज्यान गयो । घोराही–१६ सर्राकी ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी ३० वर्षीया बहिनी राधिका, घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीको मृत्यु भएको हो । प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारका चालक घोराही–१५ का ४३ वर्षीय नरबहादुर पुनको खुट्टा भाँच्चिएको छ । बुधबार राति खोलाबाटै उद्धार गरिएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । श्रेष्ठ दिदीबहिनीको बुधबार राति नै शव फेला परेको थियो भने पुन र केसीको शव बिहीबार बिहान घटनास्थलभन्दा ३ किलोमिटर दक्षिणतर्फ घोराही–३ बेलुवामा भेटियो । श्रेष्ठ दिदीबहिनी घोराही–१६ का वडा सदस्य जगत श्रेष्ठका छोरी हुन् । बिहीबार दिनभर अस्पताल र घरमा आफन्तको भीडभाड थियो । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले चालकको लापरबाहीले ठूलो क्षति हुन पुगेको बताए । ‘खोलाको बहाव ठूलो भएकाले ठूला गाडीसमेत रोकिएका थिए । अन्य वैकल्पिक बाटो पनि थियो,’ उनले भने, ‘यस्तो अवस्थामा सानो गाडी खोलामा हुलेपछि खोलाले बगायो । चालकले लापरबाही नगरेको भए क्षति हुने थिएन । कारमा चालकसहित पाँच जना रहेछन् । चारै महिलाको ज्यान गयो, चालक भाग्यले बाँचे,’ उनले भने, ‘गाडीबाट खसेर खोलामै छट्पटाइरहेको अवस्थामा हामीले तत्कालै उद्धार गर्‍यौं । उनी खतरामुक्त छन् ।’ तीजमा दिदीबहिनी रमाउने योजना बुन्दै उनीहरू सस्तोमा कपडा किन्न रुपैडिहा पुगेका थिए । दुर्घटनाको खबर सुनेपछि उनीहरूका परिवार बुधबार रातिदेखि शोकमा डुबेका छन् । सिस्ने खोलाको पुल निर्माणमा ढिलाइ भएका कारण वर्षात्मा यातायातका साधन सञ्चालनमा समस्या छ । काममा ढिलाइ गरेपछि जिल्ला प्रशासन कार्यालय दाङले साउन २५ मा जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र काटेर निर्माण व्यवसायीलाई पक्राउ गरिदिन आग्रह गरेको थियो । पुल निर्माणको काम छिटो सक्न मौखिक, लिखित ताकेता गर्दा पनि काम नभएकाले एड्भेन्चर जेभीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गरी जिल्ला प्रशासनमा बुझाइदिन अनुरोध गरी पत्र काटेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘पक्राउको पत्र काटेपछि एक साता काम सुरु भयो, त्यसपछि अहिलेसम्म सम्पर्कमा छैनन्,’ उनले भने, ‘ठाउँठाउँमा पैसा तिर्नुपर्ने भएकाले भागिरहेको देखिन्छ । अहिले पनि तत्काल पक्राउ गर्न आदेश दिइएको छ । माटैमाटो र ढुंगैढुंगासहितको बाढी आइरहेकाले कारले खोला पार गर्न नसकेको उनको भनाइ छ । ‘खोला बढ्दै थियो, माटोढुंगा बगाएर ल्याइरहेको थियो । बहाव ठूलो भएपछि कारले खोला पार गर्न सकेन,’ उनले भने, ‘त्यति ठूलो बाढी आएको देख्दादेख्दै खोलामा गाडी हाल्नु धेरै नै लापरबाही हो । पुल बन्न ढिलाइ हुँदा पहिलोपटक यस्तो ठूलो घटना भएको उनले बताए । ‘पुलमाथि ढलान भइसकेको छ, अब रेलिङ बनाउन, रङ लगाउन बाँकी छ,’ उनले भने, ‘घोराहीतर्फ कल्भर्टको चौडाइ बढाएर सिधा गर्न बाँकी छ भने लमहीतर्फ जाली लगाउनुपर्नेछ, लगातार काम गर्ने हो भने एक महिनामा सकिन्छ । निर्माण व्यवसायी केसीलाई बिहीबार बिहानदेखि खोजी गर्दा आफन्तको मृत्यु भएकाले घरायसी काममै रहेको जानकारी पाएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए । ‘आफन्त बितेकाले १३ दिनसम्म आउन नसक्ने जानकारी दिएका छन् । उनी नेपालगन्ज बस्छन्,’ उनले भने, ‘पुल निर्माणको समय असारमा सकिएको हो । कोरोना महामारीका कारण ६ महिनासम्म म्याद थप्न सकिने अवस्था छ ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार