काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न नसकेको जिकिर गरेका छन् । सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली नागरिक मारिँदा पनि सरकार चुइक्क बोल्न नसकेको बताएका हुन् । उनले नेपाली भूमिमा दशौँ हेलिकोप्टरहरू उडिरहेको तर सरकार बेखवर हुने गरेको भन्दै कटाक्ष गरे । ओलीले जयसिंह धामी प्रकरण र त्यस क्षेत्रमा भारतीय हेलिकोप्टर उडेको प्रशंक निकाल्दै सरकार जनता र देशप्रति जिम्मेवार नबनेको बताए । उनले सरकारको यो भन्दा नालायकी के हुन्छ ? भन्दै प्रश्न गरे । एउटा पार्टीको सरकार भए त बोल्न सकेन भनेर चित्त बुझाउन सकिने भन्दै पाँच पाँच वटा पार्टी हुँदा पनि बोल्न नसक्नु अचम्म भएको बताए । उनले यहाँ आफ्नो नेतृत्वको सरकारका पालामा ठुलाठुला धाकधक्कु लाउनेहरु कता गए भन्दै प्रश्न समेत गरे । भारत थाहा छैन भन्छ, नेपाल सरकारले थाहा दिन सक्दैन ? नागरिक मारिदा चुइक्क बोल्न सक्दैन ? अनि यहाँ सडकमा लाठी लगाउन खोज्छ युवालाई’, ओलीले भने, ‘यस्तालाई भन्छन् घरका बाघ, बनका स्याल । ओलीले नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोजेपनि जनता एमालेप्रति आकर्षित भइरहेको पनि बताए । ‘नेकपा एमालेलाई केही ससाना झुण्ड मिलेर, जालझेल गरेर लखेट्न खोज्छन् । सरकारबाट एमाले हटेको छ तर जनता एमालेमा पसेको छ’, ओलीको भनाइ छ । उनले एमाले सरकारमा हुनु र नहुनुमा जनतालाई केही फरक नभएको भन्दै ‘फरक देशलाई पर्ने’ बताए । ‘फरक देशलाई पर्छ, विकासमा पर्छ, राष्ट्रियताको कुरामा फरक पर्छ तर जनताको भरोसामा फरक नपर्ने’ बताए । मास्क फुत्त फालेर, आफैले टाँसेको टेप, फिल्मी स्टाइलमा बोल्न पाइन्छ भन्थे–म अहिले तिनीहरुलाई सोध्न चाहान्छु, देश र राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइदैन ?’, ओलीले भने,‘अश्लिल छाडा बोलेको छ, तमासा गरेको छ । अनि अहिले किन भन्न सक्दैनन् अपराधका हिस्सेदारहरुले गरेको अपराध ? सरकार बनाउन नसक्ने, एमालेलाई सत्तोसराप गरेर जिविका चलाउने, देश बनाउन नसक्ने, सार्वभौम सत्ताको रक्षा गर्न सक्छु नभन्ने,देशको भुभागमा दशौं हेलिकोप्टर आएर घुम्छन् कारण केहो ? किन हो यस्तो गरेको सोध्न पनि नसक्ने ? , अनि उहाँहरुले कसरी प्रशंसा पाउनुहुन्छ ?’ओलीको प्रश्न छ । उनले देउवा नेतृत्वको सरकारले एमालेलाई गाली गरेर जिविकोपार्जन गरिरहेको पनि आरोप लगाए । श्रोत:रापा












