‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरे…..

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । एमसीसी पास हुँदैन,  किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन । उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे । त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए । यसैबीच बैठकले वाईसीएलको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ । त्यस्तै सह–संयोजक सुबोधराज शेर्पाली बनेका छन् । मंगलबार अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा देवकोटा र सह–संयोजकमा शेर्पालीलाई जिम्मेवारी दिएको हो । बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको छ ।  श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार