सरकारले प्रमुख प्रतिपक्ष पेलेरै संसद् अधिवेशन अघि बढाउने संकेत…..

काठमाडौँ — सरकारले प्रमुख प्रतिपक्ष एमालेलाई पेलेरै संसद् अधिवेशन अघि बढाउने स्पष्ट संकेत गरेको छ । संघीय संसद्को नवौं अधिवेशनको पहिलो दिन बुधबार एमालेले रोस्ट्रम घेरेर सभामुख अग्निप्रसाद सापकोटाको विरोध गरिरहेकै बेला गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेस गरेका छन् । एमाले अवरोधका कारण प्रतिनिधिसभा बैठक रोक्दै बोलाउँदै गरेर तेस्रो पटकमा खाँणले अध्यादेश पेस गरेका हुन् । बुधबार अपराह्न ४ बजे सुरु भएको बैठक ११ मिनेट मात्रै चलेको थियो । सभामुख सापकोटाले राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेको पत्र वाचन गरिसक्नेबित्तिकै एमाले सांसदहरूले जुरुक्क उठेर बैठक अवरुद्ध गरेका थिए । तर सभामुख सापकोटाले ‘मैले अरू केही गरेको छैन, स्वागत गर्न त पाइन्छ होला नि’ भन्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई ५ मिनेट बोल्ने समय दिए । उनले एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको विरोध गरे । संविधानको धारा ११४ मा संसद् बैठक नभएको बेला सरकारले जारी गरेको अध्यादेश संघीय संसद् सुरु भएको पहिलो बैठकमा पेस गर्नुपर्ने प्रावधान छ । ‘संविधानमै संसद् बसेको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्ने व्यवस्था भएकाले पटकपटक बैठक राख्नुपरेको हो, अध्यादेश नभएको भए जबर्जस्ती बैठक चलाउनुपर्ने बाध्यता थिएन,’ संसद्का एक पदाधिकारीले भने । तेस्रो बैठक सुरु भएपछि पनि एमालेको विरोध जारी राख्यो । यो बैठक तीन मिनेट पनि चलेन । त्यतिबेला सभामुख सापकोटाको स्वर नै भासिएको थियो । उनले सुरुमै मन्त्री खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्न समय दिए । सभामुखले समय दिइनसक्दै खाँण रोस्ट्रमको खुड्किलोमा पुगिसकेका थिए । मर्यादापालकले घेरेर उनलाई रोस्ट्रममा पुर्‍याए । एमाले सांसदको नाराबाजीबीच प्रतिनिधिसभामा गृहमन्त्री खाँणले अध्यादेश पेस गरे । रोस्ट्रम घेराउन गर्न जाँदा एमाले सांसदलाई मर्यादापालकले रोकेका थिए । मर्यादापालकसँग घम्साघम्सी परिरहेकै बेला एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोस्ट्रममै उक्लिन खोजेकी थिइन् । खाँणले अध्यादेश पेस गरेपछि सभामुखले बुधबारको बैठक स्थगन गर्दै अर्को बैठक शुक्रबार १ बजेलाई निर्धारण गरेका छन् । सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेर एमाले र जसपा फुटाउन सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशप्रति एमाले असन्तुष्ट छ । आफ्ना १४ सांसदलाई कारबाही गर्न दिएको सूचना बेवास्ता गरेको भन्दै सभामुखसँग एमाले आक्रोशित छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार