संसद, सांसदहरुको ‘रेस्लिङ’ खेल्ने ठाउँ…..

काठमाडौं, संसदलाई लोकतन्त्रको दर्पण मान्ने गरिए पनि बेलाबखत सांसदहरुले नै यसलाई कुरुक्षेत्रमा बदल्ने गरेका छन् । विश्वका विभिन्न देशमा झैं नेपालको संसद पनि लडाईं–झगडाबाट मुक्त छैन । विहीबार संसदमा देखिएको तनावले नेपालको लोकतान्त्रिक अभ्यासमा हाम्रो स्तर कहाँनेर छ भन्ने प्रश्न फेरि एकचोटि उब्जाएको छ । सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फबाट जोरजबर्जस्ती गर्ने सिलसिला भदौ २१ गते शुरु भएर बिहीबार पनि जारी रह्यो । प्रतिपक्षी दल एमालेका केही सांसदले पहिलो दिन रोष्टममा चढ्नका लागि मर्यादापालकलाई ठेलठाल गरेका थिए । तर, शुक्रबार एमाले सांसदहरु बच्चा जसरी मर्यादापालकको काँधमाथि चढेको दृश्य संसदमा देखियो । सांसदहरुले शुक्रबार प्रतिनिधि सभा बैठकमा जुन प्रकारको शैली अपनाए, यो नौलो दृश्यचाहिँ होइन । विगतमा पनि नेपालको संसदमा यस्ता धेरै घटना भइसकेका छन् ।

नेपालको संसदीय इतिहासमा भएका यस्ता केही दृष्टान्त हेरौं–

– २०४९ सालमा आफूमाथि अभद्र व्यवहार गरेको भनेर नेपाली कांग्रेसका तत्कालीन सांसद रामचन्द्र पौडेललाई एमाले सांसद गोल्चे सार्कीले थप्पड हानेका थिए । जतिबेला पौडेल स्थानीय विकासमन्त्रीसमेत थिए ।

–२०५६ सालमा एमालेको विरोधका बीच तत्कालीन सभामुख रामचन्द्र पौडेलले स्थानीय शासन स्वायत्त ऐन पारित भएको घोषणा गरेपछि झडपको स्थिति आयो । तत्कालीन एमाले सांसदहरुले सभामुखको रोष्टम घेरे ।

–२०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरेकी थिइन् ।

–२०६७ मंसिर ३ गते तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधि सभाको बैठकमा बजेट प्रस्तुत गर्न जाँदा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गर्दै उनको हातबाट बजेट ब्रिफकेस खोसेर बजेट वक्तब्य च्यातिदिए ।

भिडन्तको अवस्था आउने भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङले संसद बैठक स्थगित गरिदिएका थिए । दुई पक्षीय घम्साघम्सीमा केही सांसदहरुको लुगासमेत च्यातिएको थियो । त्यसको भोलिपल्ट अध्यादेश मार्फत बजेट ल्याइएको थियो । आर्थिक वर्ष २०६८/०६९ का लागि तत्कालीन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले प्रतिनिधि सभाको बैठकमा सहजरुपमा बजेट पेश गर्न पाएनन् । मधेस केन्द्रित दलहरुले लगातार संसद बैठकमा अवरोध सिर्जना गरेका थिए । दोश्रो संविधान सभाको बैठकमा दुईवटा कुर्सी तोडफोड गरेपछि तत्कालीन सांसद सञ्जयकुमार साह निलम्बनमा परेका थिए भने संवैधानिक समितिको बैठकमा पूर्वसांसद विश्वेन्द्र पाशवानले आफ्नै शरीरको कपडा च्यात्न खोज्दै भिडन्त गर्न सुरिएका थिए । २०७३ मंसिरमा एमालेले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै संसद अवरुद्ध गरेको थियो । २०७६ जेठमा गुठी विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध पारेको थियो ।

हामी कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौं ?

संसदमा अहिले जुन प्रकारको तनाव भइरहेको छ, एमालेको भाषामा भन्दाखेरि यसमा सभामुख अग्निप्रसाद सापकोटाको पक्षपातपूर्ण व्यवहार जवाफदेही छ । सभामुख र सरकारले प्रतिपक्षलाई पेलेर अगाडि बढ्न खोजेका कारण अहिलेको स्थिति उत्पन्न भएको प्रतिपक्षको गुनासो छ । यो गुनासो जायजै हुन सक्ला, तर एमालेका सांसदहरुले विरोध जनाउने जुन शैली र तरिका अपनाएका छन्, के यो संसदीय लोकतन्त्रको गरिमा र मूल्यअनुरुप नै छ त ? संसदीय लोकतन्त्रको अभ्यासमा यो प्रश्न पनि सँगसँगै मुखरित भएको छ । संसदमा अहिले भइरहेको गतिविधिले हामी कस्तोखालको प्रजातन्त्रको अभ्यास गर्दैछौं भन्ने प्रश्न पैदा भएको पूर्वसभामुख तारानाथ रानाभाट बताउँछन् । उनी अहिले देखिएको गतिविधिलाई अराजकताको संज्ञा दिन्छन् । पूर्वसभामुख रानाभाटले रातोपाटीसँग कुरा गर्दै भने, ‘सभामुखविरुद्ध नाराबाजी गर्नु राम्रो हैन । सभामुखलाई पनि आफ्नो, अर्को छुट्याउन मर्यादाले दिँदैन । सभामुख भएर बस्ने ब्यक्तिले सभामुख पदको गरिमा राख्ने विषयमा चिन्ता गर्नुपर्छ । सभामुख बाङ्गो भयो भनेर सेखी झार्न सदन चल्न नदिने पनि गर्नुभएन । सभामुखलाई पाठ सिकाउने भनेर उपद्रो गर्न थालियो भने त सभाको गरिमा के हुन्छ ? पाठ सिकाउने माध्यम भनेकै वार्ता, छलफल हो । श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार