‘रेड जोन’ मै राखे पनि, स्कुल खोल्न सुरु…..

काठमाडौँ — आइतबार देशभरि ७ सय ३४ जना संक्रमित हुँदा २० वर्षमुनिका ७९ जना छन् । तीमध्ये १० वर्षमुनिका १४ जना छन् । आइतबार कुल संक्रमितमा १०.७६ प्रतिशत बालबालिका छन् । यो संख्या शनिबार ९.६६ प्रतिशत थियो । देशभरिमा देखिएका संक्रमितमध्ये सरदर ९ प्रतिशत बालबालिका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले भने, ‘यो तथ्यांकले जोखिममा बालबालिका नै रहेको देखिन्छ ।’ बालबालिकाको परीक्षण न्यून हुने भएकाले संक्रमितको संख्या यकिन नआउने उनले बताए । केही समयअघि भएको अध्ययनमा ५ वर्षसम्मका ५५ प्रतिशत र ५ देखि १४ वर्षसम्मका ५९ प्रतिशत बालबालिकालाई संक्रमण भएको पाइएको थियो । संक्रमण उच्च रहेका ११ जिल्लालाई स्वास्थ्य मन्त्रालयले अझै ‘रेड जोन’ मै राखेको छ । मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, मोरङ, सुनसरी, झापा, कास्की, रूपन्देही र सुर्खेत जिल्ला अझै पनि ‘रेड जोन’ मै छन् । ‘रेड जोनमा त विद्यालय सञ्चालन गर्नै सकिँदैन,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘जहाँ संक्रमण छैन, त्यहाँ स्थानीय तहले विश्लेषण गरी खोल्न सकिन्छ । मुलुकमा कोरोना संक्रमितको संख्या उच्च देखिएको २०७८ वैशाख २८ मा २० वर्षमुनिका संक्रमित ९.८२ प्रतिशत मात्रै थिए । त्यस दिन ९ हजार ४ सय ८३ जनालाई कोरोना देखिँदा ९ सय ३२ जना बालबालिका थिए । आइतबार देखिएको संख्या वैशाख २८ को भन्दा बढी हो । ‘अरू समूहले खोप लगाए पनि बालबालिकाले लगाउन नपाएकाले उनीहरू जोखिममा रहेको विज्ञहरूले बताएका छन्,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने, ‘बालबालिकालाई खोप लगाउन सरकारले उच्च प्राथमिकतामा राखेको छ । पुस, माघसम्म खोप आउन सक्छ । कोरोनाको पहिलो र दोस्रो लहरमा गरी १८ वर्षमुनिका ६३ हजार २ सय ६१ जना बालबालिका संक्रमित भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । पहिलो लहरमा २१ हजार ५ सय २३ जना संक्रमित भएकामा दोस्रो लहरमा ४१ हजार ७ सय ३८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ जना बालबालिकाले ज्यान गुमाएका छन् ।बालबालिका संक्रमित हुने दर बढिरहेका बेला काठमाडौं उपत्यकासहित मुलुकका ठूला सहरमा स्थानीय तहले विद्यालय खोल्न अनुमति दिन थालेका छन् । १२ देखि १८ वर्ष उमेर समूहका ५० लाख बालबालिकालाई खोप सुनिश्चित भएको बताए पनि कहिले आउने र कहिले लगाउने भन्ने सरकारसँग जवाफ छैन । सरकारले बालबालिकाका लागि अमेरिकामा उत्पादन भएको ६० लाख फाइजर र ४० लाख मोडर्ना खोप ल्याउन लागेको जनाएको छ । ‘मोडर्ना ल्याउन त पैसासमेत पठाइसकेका छौं, फाइजर खरिदको अन्तिम चरणमा छ,’ राज्यमन्त्री श्रेष्ठले भने ।

विद्यालय खोल्दा के गर्ने ?

  • स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा स्वास्थ्य परामर्श प्राप्त गरी विद्यालयमा प्रवेश गर्ने बालबालिका, शिक्षक, कर्मचारीलगायत सबैको ज्वरो परीक्षण गर्ने
  • विद्यालयमा सबैले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने
  • विद्यार्थीलाई मास्कको प्रयोग उचित तरिकाले लगाउन सिकाउने
  • अति विपन्न समुदायका बालबालिकालाई स्थानीय तहको सहयोगमा विद्यालयले मास्कको व्यवस्था गर्ने
  • विद्यालय परिवारबाहेक अन्य व्यक्तिलाई विद्यालय परिसरमा आउन निषेध गर्ने
  • विद्यालयमा कोरोनाबाट बच्न छुट्टै आचारसंहिता बनाएर टाँस्ने
  • विद्यालयमा एक जना शिक्षक (स्वास्थ्य शिक्षा वा विज्ञान विषय शिक्षण गराउने शिक्षक) लाई सम्पर्क व्यक्ति तोक्ने
  • विद्यार्थी संख्याका आधारमा पर्याप्त मात्रामा सफा पानी, हात धुने स्थान, साबुन र अन्य सरसफाइ सामग्रीको व्यवस्थासहित नियमित रूपमा हातधुने व्यवस्था गर्ने
  • विद्यालय सञ्चालनका समयमा शिक्षक, विद्यालय कर्मचारी तथा विद्यार्थीमा स्वास्थ्यसम्बन्धी समस्या वा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि आइसोलेसन कक्षको प्रयोग गर्ने उनीहरूलाई अभिभावक तथा स्वास्थ्य संस्थामा पुर्‍याउने
  • कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विद्यार्थीलाई स्वस्थ नभएसम्म विद्यालयमा नआउन सूचित गर्ने
  • विद्यालयमा बालबालिकाबीचको न्यूनतम १ मिटरको भौतिक दूरी कायम हुने गरी कक्षाकोठामा दैनिक विद्यार्थीहरूको बसाइ व्यवस्थापन गर्ने
  • एउटा कक्षा वा सेक्सनका विद्यार्थीहरूलाई सधैं एउटै समूह वा कक्षामा राख्ने
  • कक्षाकोठाका झ्यालढोका खुला राखी पर्याप्त हावा आवतजावत गर्न सक्ने बनाउने
  • विद्यालय स्वास्थ्य तथा सरसफाइसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्ने
  • छात्राहरूका लागि सेनिटरी प्याड र छुट्टै शौचालयको व्यवस्था गर्ने एवं शौचालयलाई दैनिक निर्मलीकरण गर्ने
  • खाजा खानका लागि कक्षाहरूलाई फरकफरक समयमा छुट्टी दिने, खाना बाँडेर नखाने, कक्षाकोठाभित्र खाना–खाजा नखाने
  • दिवा खाजा खुवाउनुपर्ने बालबालिकाका लागि उनीहरूको पोषण तथा स्वास्थ्यलाई ख्याल गरी दिवा खाजा व्यवस्थापन तथा सहजीकरण पुस्तिकामा उल्लेख भएअनुसारको न्यूनतम पोषक तत्त्वहरूसहित खाजा विद्यालयमै व्यवस्था गर्ने  । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार