मन्त्री नियुक्तिमा कांग्रेस पार्टीभित्र असन्तुष्ट…..

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफलै नगरी नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले असन्तुष्टि व्यक्त गरेको छ । उक्त समूहले मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि व्यक्त गर्दै छुट्टै बैठक बोलाएको छ । ‘मन्त्रिपरिषद् विस्तारमा यसै पनि ढिला भइसक्यो । अब पनि एक जना मात्रै नियुक्त गर्ने कुरा कसरी हुन्छ ? फेरि पार्टीभित्र सल्लाह र छलफल पनि गर्नुपर्ने हो,’ एक नेताले भने । देउवाले यसअघि कांग्रेसबाटै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन् । यी तीनै जना पार्टीभित्र देउवाका विश्वासपात्र मानिन्छन् । देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नो पक्षलाई सहभागी नगराएको भन्दै पौडेल समूहका नेता असन्तुष्ट छन् । देउवाले प्रधानमन्त्री नियुक्त भएको ७२ दिनपछि बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्न सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेपछि मन्त्री खड्काले आजै शपथग्रहण गरी कार्यभार सम्हाल्दै छन् । यसै क्रममा देउवाले बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । त्यसभन्दा अगाडि पौडेलले आफ्नो पक्षको रणनीति तयार गर्न अलग्गै बैठक डाकेका छन् । दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक बस्न लागेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै पार्टीको १४ औँ महाधिवेशनको तयारी र १३ जिल्लाका क्रियाशील सस्यताको टुंगो लगाउने विषयमा छलफल हुने जनाइएको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार