सरकारले नाका खोले पनि आवतजावत गर्न सकस…..

काठमाडौँ — कोरोना संक्रमणका कारण बन्द रहेका सबै नाका खुलाउने सरकारले निर्णय गरे पनि सीमा वारपारमा अझै उस्तै सास्ती व्यहोर्नुपरेको छ । मातहतका निकायमा सरकारको निर्देशन नआएको भन्दै सुरक्षाकर्मीले नाकामा पूर्ववत् व्यवहार गरिरहेका छन् । गत मंगलबार संघीय सरकारले सीमा नाका खुलाउने निर्णय सार्वजनिक गरेलगत्तै ओहोरदोहोर गर्नेको संख्या बढेको छ । तर, शुक्रबारसम्म मालवाहकबाहेक गाडीलाई दुवै मुलुकतर्फ प्रवेश अनुमति दिइएको छैन ।नाकामा राखिएको स्वास्थ्य जाँच स्थानमा सामूहिक आवागमनलाई प्राथमिकतामै राखी जाँच्ने गरिएको छ । भारतीय नाकाबाट पारि जाने नेपालीका हकमा भने नागरिकताको प्रमाणपत्र हेरी पठाउने गरिएको छ । नाका खोल्न नभई सहजीकरणको अनुमति पाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । ‘पीसीआर रिपोर्ट नेगेटिभ, खोपको डबल डोज लगाएका मानिस पारिदेखि आउने गरेका छन्,’ उनले भने, ‘अन्य मापदण्ड पुरानै रहेको छ ।’ अहिले नै नाका खोलिहाल्ने निर्णय नगरिएको तिवारीले बताए । कपिलवस्तुका नाका पनि सञ्चालनमा आएका छैनन् । रूपन्देहीको बेलहिया नाकामा शुक्रबार सर्वसाधारणको बाक्लो ओहोरदोहोर थियो । उनीहरू पैदल यहाँबाट भारततर्फ जाने र मुलुक प्रवेश गरिरहेका थिए । मानिस आवतजावत गरिरहे पनि सवारीसाधनमा भने रोक लगाइएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । प्रहरीका अनुसार सानादेखि ठूला कुनै सवारीसाधन आउजाउ गर्ने वातावरण बनेको छैन । भारतीय पर्यटक नेपाल आउने क्रम भने त्यति बाक्लो छैन । उनीहरू आएको खण्डमा प्रशासनको पत्रसहित आउने गरेको प्रहरीको भनाइ छ । कृष्णनगर, मर्यादपुर र चाकलचौडाबाट सहज आवतजावत छैन । लुकीचोरी छेउछाउबाट सर्वसाधारण नाका वारपार गरिरहेका छन् । भाडा र निजी सवारीसाधन नाका हुँदै चल्न पाएका छैनन् । ‘जिल्लाबाट कुनै सूचना छैन,’ डंगरी बोर्डर आउट पोस्ट (बीओपी) मर्यादपुरका सशस्त्र प्रहरी निरीक्षक शंकरसिंह सिखले भने, ‘यहाँ पहिले जस्तो थियो, अहिले पनि उस्तै छ ।’ कृष्णनगर नाका मुलुकका १० ठूला भन्सार नाकामध्ये रहेको छ । तर, मालवाहकबाहेक अन्य सवारीसाधन यस नाकाबाट पनि अझ सञ्चाल नभएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए । नाका खोल्ने विषयमा गृहबाट कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको भनाइ छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार