फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास एकजनालाई प्रहरीले पक्राउ…..

काठमाडौँ, नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए। टिकट काटेर दरबार संग्रहालय अवलोकन गर्दै रूपन्देही कक्ष पुगेका उनले सर्वप्रथम खुकुरी निकाल्न सिसाको ठूलो सोकेस फुटाउने प्रयास गरेका थिए,’ उनले भने, ‘सोही कक्षमा सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो। खुकुरी र मुड्कीको सहायताले बुलेट प्रुफ सिसा फुटाएर श्रीपेच झिक्ने प्रयास भएको देखिन्छ। सेनाले नियन्त्रणमा लिँदा उनले श्रीपेच लगाएर राजा बन्न लागेको कुरा गरिरहेका थिए । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रूपन्देही कक्षमा रहेको तीन फिट लम्बाइ र दुई फिट चौडाइको सिसाबाट निर्मित सोकेस मुड्की र खुकुरीले हानेर श्रीपेच चोर्ने असफल प्रयास गरेको थिए। घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए। दरबार संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। राजा बन्छु भन्दै उनले श्रीपेच राखिएको बुलेट प्रुफ सिसाको सोकेस फुटाउन खोजेपछि नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘पक्राउपछि सोधपुछका क्रममा उनको मानसिक सन्तुलन ठीक नभएजस्तो देखिन्छ। थप अनुसन्धान भइरहेको छ ।’ उनले घर्तीलाई आपराधिक उपद्रो मुद्दा चलाउने जानकारी दिए। दुई वर्ष बहराइन बसेर फर्किएका घर्तीले त्यहाँ आफूमाथि कुटपिटको घटना भएको बयान प्रहरीलाई दिएका थिए। २०७५ असोज ३० गते नेपालका राजाहरूले लगाएको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी दरबार छाडेपछि कडा सुरक्षा घेराभित्र श्रीपेच राखिएको थियो। २०६५ फागुन १५ गते दरबारलाई संग्रहालय बनाएर ५२ मध्ये १९ कक्षलाई सर्वसाधारणका लागि खुला गरिएको थियो। श्रीपेच र राजदण्डलगायत सामग्रीलाई सुरक्षाको कारण देखाएर प्रदर्शनीमा राखिएको थिएन। तत्कालीन पुरातत्व विभागका महानिर्देशकसमेत रहेका दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले श्रीपेच र राजदण्डलगायत ऐतिहासिक सामग्री राखिने जानकारी गराएका थिए । २०६८ सालमा १ करोड ५० लाख रूपैयाँको लागतमा दरबार संग्रहालयले रूपन्देही र सुर्खेत कक्षमा श्रीपेचसहितको राजदण्ड, मेस, ढाल, तरबार, रानीले लगाएको मुकुट (टायरा) र चमरलगायत सामग्री राख्न दुईवटा बुलेट प्रुफ सोकेस तयार गरेको थियो। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका अनुसार अस्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइज (हँमायु) को बहुमूल्य प्वाँखजडित श्रीपेचमा ७ सय ३० हीरा, २ हजार ३ सय ७२ मोती, सुन, चाँदी, माणिक र पन्ना राखेर तयार पारिएको हो। नागरिक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार