कांग्रेसलाई आगामी निर्वाचनमा चुनौती दिने…..

काठमाडौँ — नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेले सबैभन्दा ठूलो अधिवेशन गर्दै छ । ललितपुरको गोदावरीस्थित ‘सनराइज हल’ मा शुक्रबारबाट हुने पहिलो विधान महाधिवेशनले ‘समाजवादको आधार निर्माण’ गर्ने मुख्य कार्यदिशा तय गर्नुका साथै पार्टीको विधान र सांगठनिक संरचनाबारे निर्णय गर्नेछ । यो महाधिवेशनले मुख्य गरी माओवादी र एकीकृत समाजवादी पार्टीविरुद्ध वैचारिक रणनीति तय गर्नेछ भने हाल सरकारको नेतृत्व गरेको कांग्रेसलाई आगामी निर्वाचनमा चुनौती दिने ‘कार्यभार’ निर्माण गर्ने एमालेले जनाएको छ । ‘पार्टीलाई वैचारिक रूपले सुस्पष्ट, संगठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ठ रूपमा आबद्ध मुलुकको बहुमत प्राप्त पहिलो शक्ति बनाउने,’ अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘वर्तमान गठबन्धनको अवरसवादी, स्वार्थी र राजनीतिक अस्थिरता सिर्जना गर्ने चरित्रका बारेमा जनतालाई स्पष्ट गर्ने । गठबन्धन सरकारबाट गरिने जनविरोधी, राष्ट्रविरोधी क्रियाकलापको सशक्त भण्डाफोर र विरोध गर्ने ।’ प्रतिपक्षका रूपमा पार्टीको भूमिकालाई सशक्त, सिर्जनात्मक र प्रभावकारी बनाउने प्रतिवेदनमा उल्लेख छ ।महाधिवेशनमा देशैभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुन: स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन् । विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुन:संगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ । प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध गर्दै आएको एमालेले विधान महाधिवेशनबाट देशव्यापी रूपमा राजनीतिक तरंग दिन खोजेको छ । कम्युनिस्ट नाम भएका माओवादी र एकीकृत समाजवादीप्रति लक्षित मुख्य नारा पनि महाधिवेशनले निर्धारण गरेको छ । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं,’ एमालेले आगामी कार्यदिशाबारे भनेको छ, ‘जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’ एमाले नेताहरूले विधान महाधिवेशन पार्टीको आन्तरिक जीवनका लागि कोसेढुंगा सावित हुने दाबी गरेका छन् । माधवकुमार नेपालले पार्टी विभाजन गरी आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेपछि त्यसले पुर्‍याएको क्षतिलाई विधान महाधिवेशनको बलमा पूर्ति गर्ने र लगत्तै मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने एमालेको योजना छ । महाधिवेशनको व्यवस्थापनका लागि केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको समिति गठन गरेको थियो । सोही समितिले बिहीबार पत्रकार भेटघाटमार्फत महाधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिएको हो । व्यवस्थापन समितिका संयोजक थापाका अनुसार पहिलो दिन अध्यक्षको मन्तव्यसहित तीनवटा प्रस्ताव पेस हुनेछन् । दोस्रो दिन असोज १६ मा समूह छलफल र समूह नेताबाट सुझावहरूको प्रस्तुति हुनेछ । तेस्रो दिन असोज १७ मा दस्ताबेज पेस गर्ने, अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले समूह छलफलबाट आएका सुझाव र उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गर्ने तयारी छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार