बेमौसमी भारी वर्षाका कारण विपत्तिले ८८ को मृत्यु…..

काठमाडौँ — मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको संख्या ८८ पुगेको छ । सुदूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ । बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा १ जनाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६/६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा १/१ जनाको ज्यान गएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपत्ता रहेको पालिका अध्यक्ष अमर माखिमले बताए । मंगलबार राति पहिरोमा पर्दा पाँचथरको फिदिम–४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा १ जनाको मृत्यु भएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले दर्जनौं घर/परिवार विस्थापित भए पनि टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको बताए । पहिरोले घरलाई धक्का दिँदा माथिल्लो तलामा सुतेका दुई जनालाई उछिट्याएर बाहिर फाल्दा बाँच्न सफल भएका हुन्,’ स्थानीय उद्धव लामिछानेले भने । धनकुटाको चौबीसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ७ जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ११ वर्षीय सञ्जाल श्रेष्ठ, ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नाति ९ वर्षीय विनोद, ५ वर्षीया नातिनी निर्जला र झापा दमक– ११ घर भएका पाहुना ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ छन् । इलामको फाकफोकथुम गाउँपालिकामा पुरिएर एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चित कटुवालको मृत्यु भएको हो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कटुवाल बच्न सफल भएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० धर्मपुर गाउँनजिक रहेको घोरही नालाले बुधबार दिउँसो दुई महिलालाई बगाएकामा एक जनाको शव फेला परेको छ । नाला छेउछाउ तरकारी टिपेर घर ढढिहवा गाउँ फर्कने क्रममा उनीहरूलाई बगाएको हो । ३२ वर्षीया सीता थारूको शव सय मिटर तल रूखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । १४ वर्षीया सिर्जना थारू भने बेपत्ता छिन् । नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिडको सेक्सनमा पानी जमेपछि मंगलबार रातिदेखि प्रदेश १ विद्युत्विहीन छ । पानी निकाल्ने काम भइरहेको र क्षतिको अध्ययन गरेर मात्र मर्मतपछि विद्युत् आउने प्राधिकरणको प्रदेश १ कार्यालयले जनाएको छ । बझाङको थलारा गाउँपालिका–४ को डिक्म्ला गाउँमा पहिरोमा पुरिएका २३ जनामध्ये २ जना बुधबार मृत फेला परेका छन् । सोमबारदेखि पहिरोमा परी सम्पर्कविहीन भएका उनीहरूको उद्धार र खोजीका लागि बुधबार बझाङ सदरमुकामबाट सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । खप्तड छान्ना गाउँपालिकामा ४ जनाको पहिरोमा परेर मृत्यु भएको छ । पहिरोले घर भत्किँदा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मंगलबार राति स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ६५ वर्षीय शाही, उनकी छोरी ४० वर्षीया आशा, ज्वाइँ ५५ वर्षीय कलबहादुर शाही, नातिहरू १३ वर्षका अलिन्द, ५ वर्षीय हुमेस र ३ वर्षका जसबहादुर शाहीको मृत्यु भएको हो । एकान्तमा घर भएकाले छिमेकीले समेत बुधबार बिहान पहिरो गएको थाहा पाएका थिए । पहिरोका कारण बस्ती नै जोखिममा परेपछि स्थानीयलाई मंगलबार राति नै माडुस्थित सुरक्षित स्थानमा पठाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए । कर्णाली नदीमा आएको बाढी घरमा पसेर कैलालीको टीकापुर नगरपालिका–८ कर्मीडाँडाका ९४ वर्षीय करवीर ढोलीको बुधबार बिहान मृत्यु भएको छ । वडाध्यक्ष दीर्घ ठकुल्लाका अनुसार घरमा भएको सामान र मान्छे सुरक्षित ठाउँमा सार्दासार्दै बाढीमा डुबेर उनको मृत्यु भएको हो । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार