मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा…..

मकवानपुर, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।  तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी मुख्यमन्त्री पाउने भएपछि माधव नेपाल समूह छाडेर एमालेमै बसेकी थिइन् भने भदौ २ मा मुख्यमन्त्रीको शपथ लिएकी थिइन् । अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेकी थिइन् भने लगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी थिइन् । राजीनामा दिएसँगै शाक्यले आफू संविधान विपरीत सत्तामा नबसेको दाबी गरेकी छन् । राजीनामा घोषणा गरेर प्रदेशसभा बैठकबाट बाहिरिएकी उनले यतिन्जेल आफू संविधानतः सत्तामा रहेको र आज राजीनामाको घोषणा गरेको बताइन् । पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘संविधानतः ३० दिनभित्र विश्वासको मतसम्बन्धी सूचना जारी गर्नुपर्ने र त्यसपछि छलफल तथा थप प्रक्रिया अघि बढ्ने हो । हामीले ३० दिनभित्रै सूचना जारी गरेर विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाएका कारण संविधानअनुरुप नै सत्तामा यतिन्जेल रहेँ । राजीनामा घोषणा गर्नुको कारण खुलाउँदै उनले संघीयतामा सिकारुजस्तै भएकाले यस्तो बेलामा प्रदेशमा बेमेल धेरै सिर्जना गर्नु हुँदैन भन्ने लागेर बाटो खोलिदिएको बताइन् । ‘सत्ता पक्ष, प्रतिपक्ष एकापसमा मिलेर गएमात्र सुशासन, राजनीतिक स्थिरता कायम गर्न सकिन्छ,’ उनले भनिन्, ‘संस्कारयुक्त राजनीति सिकौँ र त्यस्तै व्यवहार गरौं भनेर राजीनामा दिएको हो । उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।  श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार