प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच भेटवार्ता…..

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) बीच दुई नेताबीच साइडलाइनमा दुई पक्षीय वार्ता भएको हाे । भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर, परराष्ट्र सचिव भरतराज पौड्याललगायत रहेका थिए । प्रधानमन्त्री देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नेछन् । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नेछन् । नोभेम्भर १ मा सुरु भएको सम्मेलनमा सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए । मङ्गलबार राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न भएसँगै सम्मेलन समापन गरिने तालिका रहेको छ । सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ । नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् । रातोपाटी संवाददाता

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार