काँग्रेस बैठकमा देउवा–प्रकाशमान जुहारी…..

काठमाडौं, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता प्रकाशमान सिंहले हालै गठन भएको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कात्तिक २४ मा ५ दलीय सत्ता गठबन्धनको बैठकले रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सो संयन्त्रको सार्वजनिक रुपमै कडा विरोध गर्दै आएका सिंहले पार्टीको बैठकमा पनि असन्तुष्टि जनाएका हुन् । सो क्रममा पार्टी सभापति शेरबहादुर देउवा र नेता सिंहबीच केहीबेर सवालजवाफ नै भएको एक नेताले जानकारी दिए । बैठकको सुरुमै बोलेका प्रकाशमानले गठबन्धन सरकारले काम राम्रो गर्नुपर्नेमा जोड दिँदै तर पार्टीमा सरकार सञ्चालनका सन्दर्भमा कुनै छलफल नभएको भन्दै आक्रोश पोखे । बरु संयन्त्रले सरकारलाई निर्देश गर्ने देखिको पनि धारणा राखे । उनले संयन्त्रको कुनै औचित्य नभएको भन्दै कम्युनिस्टको दवावमा संयन्त्र गठन गरिएको आरोप लगाए । जवाफमा देउवाले सरकारका काम काम कारबाहीमा समन्वय गर्न मात्रै संयन्त्र बनेको बताए । संयन्त्रले सरकारको काममा कुनै हस्तक्षेपकारी भूमिका नखेल्ने उनको प्रष्टोक्ति थियो । यस्तै सिंहले निर्वाचनमा जाँदा तालमेल हुन्छ भन्ने आइरहेको भन्दै चुनाव पार्टीले एक्लै लड्नुपर्ने धारणा राखे । उनले भने, ‘निर्वाचनमा जाँदा तालमेल हुन्छ भन्ने आइरहेको छ । चुनाव त एक्लै लड्नुपर्यो नि ।’ जवाफमा देउवाले ‘सरकार त रहन्छ, चुनावमा गठबन्धन हुन्छ कहाँ भनेको छु ? चुनावको त कुरै भएको छैन नि’, भने । देउवाले एमाले र माओवादी मिल्दा पहिला काँग्रेसले हालेको पनि स्मरण गराएका थिए । अहिले उनीहरू फुटेको अवस्था भएपनि यसबारे कुनै निर्णय नभएको देउवाले बैठकमा बताए । यस्तै प्रकाशमानले २ नम्बर प्रदेशमा समायोजनदेखि क्रियाशीलमा पनि मनपरी भएको भन्दै बैठकमा आक्रोश पोखेका थिए । विवादका सन्दर्भमा सहमति भयो भनिएपनि कार्यान्वयन हुन नसकेको सिंहले बताए । यस्तै देउवाले विवाद मिलाउन पहल नगरेको पनि आरोप लगाए । उनले न्यायालयको विषयमा काँग्रेसले बोल्नुपर्ने पनि बैठकमा बताए । ‘न्यायालय स्वतन्त्र हुनुपर्छ । तर सरकारको नेतृत्व त काँग्रेसले गरेको छ । हामीले केही नबोल्नु राम्रो भएन । यसमा गठबन्धन सरकारको धारणा आउनुपर्छ’, सिंहको भनाइ थियो । रातोपाटी संवाददाता

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार