पर्यटनमन्त्री आलेले रोकिदिए १५ करोडको ठेक्का…..

काठमाडौँ — पर्यटक हिँड्ने पदमार्ग निमार्णका लागि १५ करोड रुपैयाँको ठेक्काको टेन्डर सूचना (बोलपत्र) ठेकेदारकै मिलेमतोमा जारी भएको पाइएपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेले सोमबार ठाडो आदेशमा बोलपत्र सूचना रद्ध गराएका छन् । बढीमालिका, मनास्लु र धौलागिरि क्षेत्रमा पर्ने ग्रेट हिमालयन ट्रेल अर्न्तगत रहेका पदमार्ग सुधार र निर्माणका लागि पर्यटन विभागले कात्तिक ११ गते एक दैनिक पत्रिकामा ५/५ करोडका दरले १५ करोड रुपैयाँ बराबरको निर्माण तथा सुधार गर्न सूचना निकालेको थियो । उक्त सूचनाले सबै समूहका निर्माण व्यवसायीलाई प्रतिष्पर्धा गर्ने बाटो रोक्दै विभागबाट विगत तीन/चार वर्षदेखि निर्माणको ठेक्का सेटिङमा लिँदैआएका केही निर्माण व्यवसायीको मात्रै योग्यता पुर्‍याउने गरी सूचना निकालेको भन्दै उजुरी परेको थियो । एक पूर्व अर्थमन्त्री निकट ठेकेदारले वर्षौदेखि विभागका महानिर्देशकसँग मिलेमतोमा ठेक्का हत्याउँदै, कमिसनका आधारमा ठेक्का लिने, कमसल काम गर्ने उजुरी पाएको थिएँ,’ पर्यटनमन्त्री प्रेमबहादुर आलेले भने, ‘गोप्य तरिकाले छानबिन गर्दा पदमार्गमै काम गरेको, कारोबार रकमको सीमा तोकिएको, ढुंगा छापेको घनमिटर तोकिएर टेन्डर निकालेको पाइयो । बोलपत्रमा कुनै निश्चित कम्पनीको योग्यता मात्रै मिल्ने गरी पदमार्गमा ३ करोड ६० लाख रुपैयाँको ठेक्का लिएको, १ हजार १ सय ८ घनमिटर ढुंगा छिनालेर काटेको जस्ता शर्त राखिएका थिए । मन्त्री आलेले सोमबार पर्यटन सचिव यादव कोइराला, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र टेन्डर डकुमेन्ट निकाल्ने विभागका इन्जिनियर सचिन्द्र यादवलाई बोलाई सूचनामा त्रुटी रहेकाले रद्द गर्न निर्देश दिएका थिए । मन्त्रीको निर्देशनलगत्तै सोमबार साँझ विभागले कात्तिक ११ गते जारी गरेको सूचना रद्द गरेको जनाएको छ । ‘पर्यटनमन्त्रीको निर्देशन अनुसार ग्रेट हिमालयन ट्रेल पदमार्गको सूचना रद्द गरेका छौं,’ विभागका महानिर्देशक तारानाथ अधिकारीले कान्तिपुरसंग भने । महानिर्देशक अधिकारीले यी रुटका लागि बिनियोजन गरिएको बजेटलाई यसै आर्थिक वर्षमा खर्च गर्नेगरी चाँडै मन्त्रालयको राय लिई सूचना परिमार्जन गर्ने बताए । विभागले बाजुराको बढीमालिका क्षेत्रमा पर्ने भोल्दे–पइमा भन्डार–गृहमाना हुँदै फूल चढाउने रुट, मनास्लुको रुबिनला फेदी–रुबिन्ला पास–ठाडो बोराङ, सामागाउँ हुँदै विरेन्द्रताल रुट र धौलागिरि क्षेत्रको रुइसे डाँडा–धौलागिरि आइसफल रुट गरी तीन वटा पदमार्ग निर्माणको ठेक्का निकालेको थियो । यी रुटको निर्माणका लागि मंसिर १२ गतेभित्र टेन्डर बुझाउने सूचना थियो । यी टेन्डर सम्वद्ध स्रोतका अनुसार यी तीन क्षेत्रको ठेक्कामा दोब्बर लागत बनाई सूचना जारी गरिएको छ । ‘विभागका विगतका ठेक्कामा ६७ प्रतिशतसम्म घटाघटमा काम भएको देखिएकाले लागत रकम कम्तीमा दोब्बरसम्म राखेको बोलपत्र जारी गरिएको देखिन्छ,’ स्रोतले भन्यो । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार