मसँग प्रतिस्पर्धा गर्दा लोकतन्त्र होचिँदैन…..

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनमा हुने पार्टीको १० औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न कसैलाई नरोक्ने बताएका छन् । आफूसँग अरूले प्रतिस्पर्धा गर्दा पनि केही फरक नपर्ने उनले जनाएका छन् । ‘मसँग प्रतिस्पर्धा गर्दा लोकतन्त्र होचिँदैन । प्रतिस्पर्धा गर्न पाइन्छ,’ उनले बुधबार बालकोटस्थित निवासमा भने । अध्यक्षमा फेरि उठ्ने औपचारिक घोषणा गरिनसकेका ओलीले आफूले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने ‘आम साथीहरूको’ धारणा रहेको उल्लेख गरे । ‘म उठें भने भरसक सर्वसम्मत होला । मैले सहमति गरौं, मलाई निर्विरोध छोडिदिनुहोस्, तपाईं अध्यक्षमा नउठिदिनुहोस् भन्ने छैन,’ उनले भने, ‘म कसैलाई दबाब दिन चाहन्नँ । कसैले आफ्नो अधिकारको कुरा गर्दा मैले दबाब किन दिने ?’ आफूसँग प्रतिस्पर्धा गर्नेले मतपरिणामबारे भने ख्याल गर्नुपर्ने ओलीको भनाइ छ । ‘कसैले प्रतिस्पर्धा गर्न खोज्यो भने परिणाम के हुन्छ, सबलाई थाहा छ । त्यसमा खाली पार्टीको इमेज र युनिटीलाई कमजोर देखाउने अथवा पार्टीभित्र प्रतिपक्ष छ भन्ने देखाउने कुरा मात्र हुन्छ । पार्टीभित्र फरक मत राख्नेप्रति कुनै पूर्वाग्रह नरहने उल्लेख गर्दै उनले एमालेमा पूर्वमाओवादी र ‘१० भाइ समूह’ नरहेको दाबी गरे । ‘अब १० भाइवाला कुरा केही छैन । कुनै साथीले बोलेको छ भने त्यो उसको निजी कुरा हो । तपाईंहरूलाई यो भ्रम नरहोस् कि भीम रावलले बोलेको कुरा १० भाइको कुरा होइन  । महाधिवेशनबाट नेतृत्व चयन गर्दा नेता व्यवस्थापनभन्दा देशलाई सही बाटोमा लैजाने नीति महत्त्वपूर्ण हुने बताए । ‘हाम्रो पार्टीको कामको अभिभारा भनेको नेताहरूको व्यवस्थापन होइन, देशलाई सही बाटोमा लैजाने हो । देशको राजनीतिलाई लोकतान्त्रिक अभ्यासमा लैजाने हो । शान्ति स्थिरता र स्थायित्वको बाटोमा लैजाने हो र देश विकास गर्ने हो भने । केन्द्रीय पदाधिकारी संख्या बढाउने सम्भावनालाई उनले अस्वीकार गरे । ‘पदाधिकारीको संख्या कसैको आकांक्षा हेरेर होइन, आवश्यकता हेरेर निर्धारण हुन्छ । मान्छेका आकांक्षा हेर्‍यो भने सबैको अध्यक्ष, उपाध्यक्ष हुने होला । अध्यक्ष हुने आकांक्षा भए चुनाव लडेर आए भयो,’ उनले स्पष्ट गरे, ‘वास्तवमा हुनुपर्ने एक/एक अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव हो । आगामी संसदीय चुनावमा उनले कुनै पार्टीसँग तालमेल नगर्ने तर चुनावपछि सरकार निर्माणमा भने गठबन्धन हुन सक्ने संकेत गरे । । ‘राजनीतिक दलहरू आआफ्नो ढंगले, स्वतन्त्र ढंगले चुनाव लडून् । आफ्नो जनमत कस्तो छ ? जनताको विश्वास कति छ थाहा पाऊन् । यदि एकल सरकार बनेन भने मिलिजुली सरकारको प्रावधान छ,’ उनले थपे, ‘हामी आफू–आफू चुनावमा गएर जनमत लिएर अघि बढौं भन्ने मान्यता हो । एक पटक मोर्चा बनाएर अभ्यास गर्‍यौं । अब, चुनाव एक्लै स्वतन्त्र ढंगले लड्छौं । हाम्रो प्रतिद्वन्द्वी नेपाली कांग्रेस छ । अरू अब चुनावी तालमेल गरिरहनुपर्ने हैसियतका छैनन् । सरकारले संविधानसम्मत तरिकाले निर्वाचन घोषणा गरे ‘अर्ली इलेक्सन’ मा समेत भाग लिने बताए । ‘नेपाली कांग्रेस किन तयार भएन ? अहिले पनि हामी चुनाव घोषणा गर, हामी तयार छौं भन्छौं । अरू तयार छैनन् । पटक–पटक संसद् विघटन गरेर मध्यावधि निर्वाचन गरेको कांग्रेसले हो । अहिलेचाहिँ बीचमा चुनावमा जान हुँदैन भन्छ,’ उनले भने, ‘संविधानसम्मत चुनाव हुनुपर्छ । संविधानसम्मत ढंगले निर्वाचन प्रक्रियामा जाँदा हामीलाई जुनसुकै निर्वाचन अघि आओस्, पछाडि आओस्, केही छैन । हामी सामना गर्न तयार छौं । निर्वाचन चाहिएको छ । जनादेश चाहिएको छ । परमादेशबाट बनेको यो यन्त्र–सरकारको सकेसम्म छिटो अन्त्य हुनुपर्छ देशको हितका लागि । त्यसका लागि छिटो चुनाव हुनुपर्छ । हामी अर्को प्रकारको गठजोडबाट सरकारमा जाने मनसाय केही राख्दैनौं , चुनावको प्रतीक्षामा छौं । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार