सौराहामा एमालेको मतदान, आचारसंहिताको धज्जी उडाइयो…..

चितवन, नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएको छ । आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदान स्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो । एमालेको निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने उल्लेख छ । तर एमालेको मतदान जारी हुँदै गर्दा केपी ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्नेबारे प्यानलको सूची नै वितरण गरेको पाइएको हो । एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र भिम रावलबीच भीडन्त छ भने मतदान गएराति देखि सौराहामा जारी छ । यस्तै ८ बुँदे आचारसंहितामा निर्वाचनका समयमा पालना गर्नुपर्ने सामान्य आचरणहरूको विषय समेत उल्लेख गरिएको छ । जसमा कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । यस्तै उम्मेदवार वा महाधिवेशनको कुनै पनि मतदाता वा महाधिवेशनमा संलग्न कुनै पनि व्यक्तिको निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन बन्देज लगाइएको छ । यस्तै कुनै पनि प्रकारको धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि बन्देज लगाइएको छ । मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन। पार्टीको विधान, घोषित नीति, सिद्धान्त, कार्यक्रम विपरीत प्रचार–प्रसार गर्नु गराउन पनि निषेध गरिएको छ । ​मतदान कार्य सुरु भएदेखि मतदान केन्द्रभित्र मतदानको काम सम्पन्न नहुँदासम्मका लागि निर्वाचन प्रचार–प्रसार हुने गरी सामान्य भिजिटिङ कार्ड आकारको पर्चा भन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शन गर्न आचारसंहिताले रोक लगाएको छ । प्रचार सामग्रीहरू (पर्चा, पोष्टर, पम्प्लेट, ब्यानर) प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न, गराउन तथा सभा–जुलुस गर्न गराउन पनि रोक लगाइएको छ । समूहगत रूपमा छुट्टै भेला तथा बैठक गर्न गर्न पनि रोक लगाइएको छ । यस्तै मतदातालाई प्रभावित गर्ने उद्देश्यले भोजभतेरको आयोजना गर्न गराउन र मादक पदार्थको सेवन गरी प्रचार–प्रसार गर्नु गराउन समेत रोक लगाइएको आयोगले जनाएको छ । तर यो आचारसंहिता कडाइका साथ पालना हुन नसकेको महाधिवेशन प्रतिनिधिहरु बताउँछन् । श्रोत :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार