कोरोनाविरुद्ध ‘बुस्टर’ डोज दिने सरकारको तयारी…..

काठमाडौं, सरकारले कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर’ डोज दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको हो । आइतबार बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी (क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका नागरिक) लाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण महाशाखाले जनाएको छ । यस्तै, संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको तेस्रो मात्रा खोप दिने विषयमा मन्त्रालयमा छलफल भइसकेकाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको बताए । सरकारले पूर्ण जनसङ्ख्यालाई कोरोनाविरुद्ध खोपको पहुँचमा नपुर्‍याइकनै बुस्टर डोजको तयारी गरेको छ । यद्यपि नेपालको कुल जनसङ्ख्याको ३४.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप २८.६ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले तेस्रो मात्रा खोपको विषयमा छलफल गरिरहँदा अमेरिकाले पहिलो÷दोस्रो मात्रा खोप लगाएका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको छ । इजरायलले सबैभन्दा अघि आफ्ना दीर्घरोगी, वृद्धवृद्धालाई बुस्टर खोप दिएको हो । यस्तै, यूएई, चीन, चिली, उरुग्वे, थाईल्याड, फ्रान्स, जर्मनी लगायतका राष्ट्रले बुस्टर खोप दिइरहेका छन् । ओमिक्रोन भेरियन्ट छोटो अवधिमा विश्वका विभिन्न राष्ट्रमा देखिएपछि वृद्धवृद्धा तथा दीर्घरोगीलाई विभिन्न मुलुकले खोपको बुस्टर डोज दिइरहेका छन् ।

बुस्टर डोज कसले पाउँछन् ?

कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका दीर्घरोगीलाई बुस्टर डोज दिने योजना बनाएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले जानकारी दिए । राष्ट्रिय खोप सल्लाहकार समितिले दीर्घरोगीलाई खोपको बुस्टर डोज दिन सल्लाह दिएको छ,’ उनले भने, ‘अब अतिरिक्त मात्रा खोप दिनका लागि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्छ । त्यसअनुसारको निर्देशनपछि खोप दिन सुरु गर्छौँ । दुवै मात्रा खोप लगाएको तीन महिना काटेका दीर्घरोगीलाई तेस्रो मात्रा दिनेबारे छलफल भइरहेको उनको भनाइ छ । उनले भने, ‘खोप लगाएका व्यक्तिमध्ये दीर्घरोगीको एन्टीबडी तीन महिना मै घटेको पाइएकाले उनीहरुलाई तेस्रो मात्रा खोप दिनेबारे छलफल भएको हो । यता चीनले भेरोसेल खोपको दुई मात्रा पूरा गरेको तीन महिनापछि ६० वर्षमाथिका नागरिकले बुस्टर डोज लगाउन मिल्ने बताउँदै आएको छ । नेपालमा पहिलो पटक गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । यस हिसाबले पूर्ण खोप लगाएको ६ महिना पुगिसकेको छ । खोप लगाएको ६ महिना कटेपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुँदै गएको अध्ययनहरुले देखाएकाले बुस्टर खोप कुन समूहलाई दिने भन्नेबारे अध्ययनको आवश्यकता रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुन बताउँछन् । पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनर तथा अन्य नागरिकको एन्टीबडीको अवस्था र पछिपछि दुवै मात्रा खोप लगाएका नागरिकको एन्टीबडीको अवस्थाबारे अध्ययन गरेर आवश्यकताको आधारमा खोपको अतिरिक्त मात्रा दिनुपर्नेमा उनको जोड छ । पूर्ण मात्रामा खोप लगाउनेहरुको एन्टीबडी विकास भए पनि पछि क्रमशः घट्दै गएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनको निष्कर्ष थियो । दुई महिनाअघि कोभिशिल्ड, भेरोसेल र अन्य खोप लगाएका र नलगाएका १ हजार ४४८ जनाको सहभागिता एन्टीबडीबारे अध्ययन गरिएको थियो । जसमध्ये ८१ प्रतिशतले खोप लगाएका थिए । त्यसमा पनि कोभिशिल्ड लगाउने ८५.२ प्रतिशत थिए भने भेरोसेल लगाउने १४.५ प्रतिशत थिए । खोप कार्यक्रममा सहभागीमध्ये ६१ प्रतिशतमा एन्टीबडी रहेको अध्ययनले देखाएको छ । खोप लगाएको दिनदेखि तुलना गरेर र दोस्रो महिनामा नमुना संकलन गर्दा ८२.३३ प्रतिशत सहभागीमा एन्टीबडी देखिएको छ भने चौथो महिनामा एन्टीबडी घटेर ४३.७५ मात्र देखिएको थियो ।

के हो बुस्टर डोज ?

बुस्टर मात्रा भनेको खोपको अतिरिक्त मात्रा हो । प्रारम्भिक शृङ्खला भन्नाले केही महिना वा वर्षको फरकमा लगाइने एक वा त्यसभन्दा बढी खोपको डोज अर्थात् मात्रा भन्ने बुझिन्छ, यसले व्यक्तिलाई ब्याक्टेरियल वा भाइरल सङ्क्रमणबाट आधारभूत सुरक्षा प्रदान गर्छ । धेरै भाइरल संक्रमणका लागि बुस्टर खोप सामान्य हो । उदाहरणका लागि मौसमी फ्लूको प्रत्येक वर्ष बुस्टर खोप लगाउनुपर्छ । यस्तै, भाइरसले आफ्नो अनुवांशिक गुण परिवर्तन गरिरहेको हुनाले खोप हरेक वर्ष परिवर्तन हुन्छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार