प्रचण्डपुत्रीलाई मेयरमा जिताउन खेलेको भूमिकाले कांग्रेसको चरम राजनीतिक विचलन…..

काठमाडौँ — कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गरेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाएका हुन् । सिंहको उम्मेदवारी घोषणापत्रमा भनिएको छ, ‘सभापतिजीले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सम्झौता र निर्वाचनपछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डको राजनीतिक धरातल बनाइदिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन हाम्रो पार्टी सभापतिले खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा थियो । पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट देउवा एक्लैले ठूलो आत्मघाती निर्णय गरेको सिंहको आरोप छ । सिंहले भनेका छन्, ‘उक्त घटनाले देशव्यापी रूपमा स्वाभिमानी कांग्रेसीजनको शीर निहुर्‍याएको थियो । पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई ठूलो क्षति पुगेको थियो भन्ने मेरो ठहर छ । त्यस्तै सिंहले पार्टीका नेता र सभापति पार्टीको सिद्धान्त र आदर्शविपरीत काम गरेको पनि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘हाम्रा नेता वा पार्टी सभापतिले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी केवल व्यक्तिगत उग्र–राजनीतिक महत्वकांक्षा र सत्ताकेन्द्रित राजनीतिक चरित्र र प्रवृत्तिको कारणबाट पनि पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट विचलित हुनु परेको यथार्थ हाम्रा सामु छर्लङ्ग छ ।’ आगामी दिनमा पार्टी सञ्चालन गर्दा विधानको अक्षरसः पालना आफ्नो प्रमुख प्राथमिकता हुने सिंहले दाबी गरेका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार