काँग्रेस महाधिवेशनमा मतदान आज…..

काठमाडौं, नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ । निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ । काँग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ । यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुनेछ र मतगणना पनि सभागृहमै हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । निर्वाचनमा मतदानका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । त्यस्तै, निर्वाचनमा २९ वटा मतपत्र प्रयोग गरिनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आज प्रकाशन गरेको अन्तिम नामावलीअनुसार काँग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा उम्मेदवार छन् । केन्द्रीय उपसभापति दुई सिटका लागि डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइराला उम्मेदवार हुनुहुन्छ । केन्द्रीय महामन्त्री दुई सिटका लागि गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। केन्द्रीय सहमहामन्त्री (महिला एक सिट) का लागि कमला पन्त र महालक्ष्मी उपाध्याय, (सहमहामन्त्री दलित एक सिट) का लागि गङ्गा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा, सहमहामन्त्री (आदिवासी/जनजाति एक सिट) का लागि विकास लामा र भीष्मराज आङ्देम्बे, सहमहामन्त्री (खस आर्य एक सिट) का लागि किशोरसिंह राठौर र देवराज चालिसे, सहमहामन्त्री (मधेसी एक सिट) का लागि महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, सहमहामन्त्री (मुस्लिम एक सिट) का लागि फरमुल्लाह मन्सुर र शेख वकील, सहमहामन्त्री (थारु एक सिट) का लागि उमाकान्त चौधरी र तेजु लाल चौधरी तथा सहमहामन्त्री (पिछडिएको क्षेत्र एक सिट) का लागि चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे उम्मेदवार छन् ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार