हामी दिदी बहिनी सहकारी संस्था को १२औ साधारण सभा सम्पन्न

काठमाडौं ।

“बचत गरौं स्वाबलम्बी बनौ” भन्ने नाराका साथ स्थापना भएको हामी दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा मंसिर २५ गते गोरखा बचत तथा ऋण सहकारी संस्थाका बोर्ड आफ डाइरेक्टर श्री कृष्णा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री कृष्णा सुब्बाले सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको जीवनसँग जोडिएकाले सबैले महत्व दिन सके समृद्ध नेपाल निर्माण गर्न सकिने, साथै नेपालको समृद्धिको र रोजगारी सिर्जनाका लागि सहकारी महत्वपूर्ण आधार भएको बताउनु भयो ।
सभामा विशेष अतिथि नेपाल नारी चेतनसिल संघका अध्यक्ष श्री प्रभा कुमारी ढुङ्गेल, अतिथिहरुमा क्रमशःनेफ्सकुनका पूर्व सञ्चालक श्री नारायण प्रसाद शर्मा गैरे, महिला नव जागरण अभियान नेपालको अध्यक्ष श्री यशोदा खनाल, महिला नव जागरण अभियान नेपलाको उपाध्यक्ष श्री सुनिता बस्नेत, हामी दिदी वहिनी साकोसको सल्लाहकार समिति सदस्य निरु माया कन्दङ्वा, दिल बहादुर तिलिङ, प्रेमकुमार खजुम लगायत  जापान सम्बाहाङ्फे, सुकमाया तुम्रोक, दिल विक्रम आङदेम्बे सहितको उपस्थिति रहेको थियो ।


सोही संस्थाका अध्यक्ष श्री गोमादेवी आङदेम्बेले आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको वार्षिक प्रतिवेदन इन्द्रबहादुर साँवाले प्रस्तुत गर्नुभएको थियो । सभामा विशेष गरी विभिन्न बूँदाहरुमा छलफल भएको थियो । जसमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको बार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, लेखा समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सहकारी अभियानलाई सुदृढ, दिगो एवं मर्यादित बनाउने उद्देश्य सहित ठोस कार्यक्रम ल्याएर सहकारीलाई गतिशिलता प्रदान गर्नुपर्ने उहाँको भनाई थियो ।
सो कार्यक्रममा अतिथिहरुले कोरोनाको महामारीमा आ.व. २०७६÷०७७ मा संस्था स्थिर रहेता पनि राज्यले सिंगो राष्ट्रको आर्थिक विकासका आधारहरु मध्ये एक आधारको रुपमा सहकारी क्षेत्रलाई मान्यता प्रदान गरेको सन्दर्भमा समन्यायिक रुपमा विकास गर्न सहकारी क्षेत्रको आवश्यकता र महत्व दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । अर्को तर्फ केही सहकारीहरु सहकारीका आदर्श, मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन नहुनाले समस्याग्रस्त भई समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोणमा नै समस्या आएको यस अवस्थामा समेत संस्थाप्रति विश्वास गरेर सदस्य बन्न इच्छुक सदस्यहरुको संख्यामा बृद्धि हुँदै गएकोमा आभार सहित शुभकामना व्यक्त गरे ।

सहकारीको आ.व. २०७७÷०७८ को अन्त सम्ममा शेयर पूँजी रु.५९,२१,६००।– पुगेको, कोभिड १९ को कारण सोचे अनुरुप लक्ष्य पूरा नभए पनि २० प्रतिशत शेयर वृद्धि भएको, संस्थाले बचत तथा ऋण नीति अनुरुप सदस्यहरुको व्यवसायिक स्तर अभिवृद्धिका लागि धितो र जमानतमा कर्जा लगानी गर्दै आएको छ । सदस्यहरुकै व्यवसायिक अभिवृद्धिका लागि साथै संस्थाका सदस्यहरु माझ हुने विभिन्न किसिमका सामाजिक क्रियाकलापमा अग्रसर भई काम गर्ने उद्देश्यले विभिन्न किसिमका कार्य योजनाहरुको तर्जुमा गरी चालु आ.व.२०७८÷०७९ को वार्षिक योजना नीति तथा कार्यक्रम छलफल गरी पारित गर्दै, आ.व. २०७७÷०७८ को अन्तमा महिला सदस्य संख्या २६५ र पुरुष सदस्य संख्या ९९ जना गरी जम्मा ३६४ जना सेयर सदस्य रहेको सोही संस्थाकी अध्यक्ष श्री गोमादेवी आङ्देम्बेले जानकारी दिनुभयो ।


हामी दिदीबहिनी सहकारी संस्थाको १२औं वार्षिक साधारण सभामा विभिन्न कारोबारमा सहभागि भई उत्कृष्टतामा छनौट हुनु भएका सदस्यहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट दैनिक बचत कर्ता सदस्य श्री मनोज पोर्तेल, उत्कृष्ट सेयर लगानी कर्ता सदस्य श्री बुद्धमाया लिम्बू, उत्कृष्ट नारी बचतकर्ता सदस्य श्री सरिता कुमारी चौधरी, उत्कृष्ट आवधिक बचतकर्ता सदस्य श्री सबु लिम्बू श्रेष्ठ, उत्कृष्ट बालबचतकर्ता सदस्य श्री एरिक रोक्का, उत्कृष्ठ खुत्रुके बचतकर्ता सदस्य श्री मिङ्गसोहाङ लिम्बू, उत्कृष्ठ कर्जा कारोबारकर्ता सदस्य श्री शान्तीकुमारी चेम्जोङ, उत्कृष्ट नियमित बचतकर्ता सदस्य श्री अन्जुकला सेलिङ आदिलाई पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सदस्य श्री तुलसा तुम्बाहाङ्फेले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नन्दमाया आङदेम्बेले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार