देउवा- एमसीसी सम्झौता अनुमोदन गर्न हतारो, गठबन्धनमा संशय पैदा…..

काठमाडौँ — कांग्रेस महाधिवेशनबाट सभापति चुनिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न हतारो देखाएपछि सत्ता घटक दलबीच गठबन्धनको भविष्यलाई लिएर संशय पैदा भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले यही साताभित्र सम्झौता अनुमोदन गर्नुपर्ने भन्दै समर्थनका लागि आग्रह गरेपछि सत्ता घटक पाँच दलमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादी अप्ठ्यारोमा परेका हुन् । एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेका छन् । एमसीसी अघि बढाउँदा पार्टीभित्र अप्ठ्यारो पर्ने, अघि नबढाउँदा सत्ता गठबन्धन दलको भविष्य नै के हुने भन्ने चिन्ता मुख्य रूपमा यी दुई दलमा देखिएको छ । सर्वदलीय बैठक बस्नुअघि आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको प्रस्तुतिबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बढी सशंकित भएका एक नेताले बताए । दाहालले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनअघि एमसीसीको विषयलाई छलफलमा नल्याउन आग्रह गर्दा ढिलाइ हुने भन्दै देउवाले तत्काल अघि बढाउनुपर्ने अडान राखेका थिए । कांग्रेसको महाधिवेशनअघिसम्म अहिले यसो नगरौं भनेपछि प्रधानमन्त्रीजीले मान्दै आउनुभएको थियो, सरकारका गलत कामकारबाहीका कतिपय विषयमा प्रधानमन्त्रीले पनि आफ्नो पार्टीको महाधिवेशन देखाएर अहिले यसो नगरौं भन्नुहुन्थ्यो, गठबन्धन दलले मानिदिएका थिए तर आफ्नो पार्टीको महाधिवेशनबाट सभापति निर्वाचित भएलगत्तै उहाँको प्रस्तुतिमा फरक आएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीको हतारो हेर्दा गठबन्धन दलबीचको सहकार्य नै कति लामो जान्छ भन्न सकिने स्थिति छैन । एमसीसी अघि बढाउनुपर्ने मुद्दाबाट प्रधानमन्त्री पछि नहट्ने संकेत पाएपछि सत्ता गठबन्धन जोगाउनका निम्ति दाहाल र नेपाल सबैभन्दा बढी दबाबमा छन् । सत्ता घटकमध्ये जनता समाजवादी पार्टीमा ठूलो मतभेद छैन । प्रतिनिधिसभामा एक सिट मात्रै रहेको राष्ट्रिय जनमोर्चा विपक्षमा छ तर उसको भनाइलाई प्रधानमन्त्रीले गम्भीरताका साथ लिएका छैनन् । रासस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार